१२ श्रावण २०८१, शनिबार
Follow Us

‘मलाई फसाउन खोज्ने, प्रकाश ज्वालालाई बचाउने ?’

नेपालब्रिटेन संवाददाता
६ फाल्गुन २०८०, आईतवार १३:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दुई युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई आफूहरूले सामान्य रुपमा नलिएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै लामिछानेले उक्त प्रकरण प्रधानमन्त्रीको परीक्षा भएको भन्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरे ।

देशमा रोजगारी नपाएपछि परिवार पाल्न विदेशमा रोजगारीका लागि जान खोजेका वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरिएको बताए । हत्यापछि १० लाख दिएर सरकार चुपचाप बसेको आरोप उनको थियो । छानबिन समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई दोषी औंल्याए पनि मन्त्रीले नैतिकता प्रदर्शन नगरेको र प्रधानमन्त्रीले पनि बर्खास्त नगरेको भन्दै आपत्ति जनाए । उनले त्यसबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए।

प्रमाण नभेटेका मानिसहरूलाई नक्कली प्रमाण बनाएर र नक्कली उजुरी बनाएर भए पनि पक्राउ गर्न दबाब दिएको तर दोषीमाथि कारबाही नभएको आरोप लगाए ।

‘जसरी पनि समात, जसरी पनि थुन्न खोज भनेर दबाब दिन लागिरहने, छताछुल्ल प्रमाण भएका मानिसहरूलाई वरपर लिएर हिँडिरहने हो भने विधिको शासनबारे नबोले पनि हामी बुझ्दछौं–गठबन्धनको पीडा, हामी बुझ्दछौं प्रधानमन्त्रीसँग जम्मा ३२ सिट भएको पीडा तर हामी यो पनि बुझ्दछौं कि, नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस्, रास्वपाले रचनात्मकरूपमा सरकारले गरेको राम्रो कामको सदैव सम्मान गर्दै आएको छ,’ उनले भने ।

सरकारले आफ्ना वरपर भएका मानिसलाई बचाउन प्रयास गरिरहेको आरोप सभापति लामिछानेले लगाए । उनले ललिता निवास, सुन तस्करी काण्ड र भुटानी शरणार्थी प्रकरणमा सत्ता गठबन्धन वरपरका मानिस जोगाइएको बताए ।