१२ श्रावण २०८१, शनिबार
Follow Us

एनआरएनको सवा अर्बको लगानीमा नेपालमै औषधि उत्पादन सुरु

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०८०, मंगलवार ०१:५१

काठमाडौं । गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गर्नुभएको हो । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त गर्नुभयो ।

‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अपनाएका प्रविधि र नवीनताहरुले औषधि उपभोक्ताका मागहरु पूरा गर्न सक्षम हुने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो । औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि उत्पादन तथा बजार व्यवस्थापन विकसित मुलुकको तुलनामा निकै पछाडि रहेको उल्लेख गर्नुभयो । ‘धेरै क्षेत्रमा शतप्रतिशत आयातमा भर पर्नुपर्ने अवस्थाका बीच पनि कुल मागको झण्डै ५० प्रतिशत स्वदेशी उद्योगको उत्पादनले धानिरहेको अवस्था छ । यो अवस्था सुखद छ, तर अझै सुधार गर्नुपर्ने आवश्यकता देखेको छु,’ उहाँको भनाइ छ ।

दुई साताअघि मात्रै प्रतिनिधि सभाबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित भएको बताउँदै उनले विधेयकका कतिपय दफा व्यवसाय प्रवर्द्धनसँग पनि सम्बन्धित रहेको सभामुखको भनाइ थियो । ‘आशा छ, विधेयकले व्यावसायिक लगानीको वातावरण बनाउन र प्रवर्द्धन गर्न सहयोगी हुने विश्वास लिएको छु । मुलुकमा व्यासायिक र लगानीमैत्री वातावरण बनाउन विधेयकले सहयोग गर्ने नै छ ।

लगानीमैत्री कानून बनाउन संसदले सकारात्मक भूमिका खेल्ने जानकारी गराउँदछु,’ उहाँले भन्नुभयो । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी र गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वदेशी औषधिलाई प्रवद्र्धन गर्न नीतिगत व्यवस्था नै लगानीमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरुले औषधिमा भएको लगानी खेर जान नदिन आयातमा भएको खुलापनमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले गुणस्तरीय स्वदेशी औषधि उद्योगको भविष्य राम्रो रहेको बताउँदै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्रि केसी, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलगायतले ओम मेगाश्रीलाई सफलताको शुभकामना व्यक्त गनुभयो ।

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने औषधिमा आम समुदायको चासो र लगानीप्रवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न तथा निर्यातको ठोस कार्ययोजनासहित अगाडि बढ्नुलाई प्रमुख दायित्व ठानेको बताउनुभयो।

‘हामी उक्त दायित्वलाई मूर्त रूप दिन मन, वचन र कर्मले समर्पित छौँ । सरकारलाई निजी क्षेत्रबाट उत्पादित औषधिले ठुलो टेवा पुर्‍याइहरेको छ । यसमा ओम मेगाश्रीले विशेष योगदान दिने कुरामा हामी विश्वस्त रहेको निवेदन गर्दछौँ,’ उहाँले भन्नुभयो, ‘देशलाई औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा समेत आत्मनिर्भर बनाउन र जनताको प्रत्यक्ष–परोक्ष उपस्थिति अनिवार्य रहेको तथ्यलाई आत्मसात् गरी यसमा सर्वसाधारण जनताको समेत लगानीको परिकल्पना गरिएको छ ।’

झण्डै सवा अर्ब लगानीमा सुरु भएको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको उत्पादन कारखाना चितवनको जुगेडीमा रहेको छ ।