१३ बैशाख २०८२, शनिबार
Follow Us

महासमिति बैठकमा विश्वप्रकाशको प्रस्ताव: दुई पटक प्रधानमन्त्री, चार पटक सांसद

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०८०, मंगलवार १३:०८

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव महासमिति बैठकमा प्रस्तुत गरेका छन ।

आज (मंगलबार) ललितपुरको गोदाबरीमा जारी महासमिति बैठकको बन्दसत्रमा महामन्त्री शर्माले मंगलबार समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका हुन्, जसमा नागरिक पङ्तिमा रहेको असन्तुष्टिलाई कसैले सत्तामा जाने भर्‍याङ बनाउन खोजेको दाबी गरेका छन ।

उनले कतिपयले पुरानो सत्ता फर्काउन प्रयोग गर्न खोजेको भन्दै कांग्रेसले व्यवस्थामा परिमार्जनका लागि पहल गर्नुपर्ने धारणा राखेका छन । उनले यसका लागि व्यक्ति बहिर्गमनको पद्धति बसाल्नुपर्ने बताएका छन ।

कांग्रेसले पार्टीको केन्द्रीय वा जिल्ला सभापति दुई पटक मात्र बन्न पाउने व्यवस्था गरेको भन्दै उनले भनेका छन्, ‘यसको अर्को प्रतिरुप अब मुलुकको शासन प्रणालीमा अवलम्बन गर्न जरुरी छ ।’

उनले राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुन पाउने पद्धति बसाल्न प्रस्ताव गरेका हुन् । ‘कांग्रेसले यो पद्धतिको अनुशरण आफूले गर्ने छ र, संवैधानिक बस्दोबस्तका लागि प्रस्ताव गर्ने छ’ प्रतिवेदनमा भनिएको छ । प्रदेशको हकमा पनि मुख्यमन्त्री बढीमा दुई पटक, मन्त्री तीन र प्रदेश सांसद चार पटकभन्दा बढी हुन नपाउने पद्धति अवलम्बन गर्ने महामन्त्री शर्माको भनाई रहेको छ।

उनले तीनै तहको उम्मेदवार चयन गर्दा भूगोलको क्रियाशील सदस्य, पार्टी सदस्य वा शुभेच्छुकहरुको सहभागितामा चयन गर्ने प्राइमरीलाई पाइलट प्रोजेक्टका सुरु गर्नु पर्ने बताएका छन ।

उनले एउटै घर परिवारमा रहने सदस्य एकै तहमा सांसद हुने गरी उम्मेदवार बन्दा आलोचना भएको भन्दै यसको विकल्प खोज्नुपर्ने पनि बताएका छन ।

उनले विषयविज्ञ र दक्ष्य व्यक्तित्वहरुलाई राजनीतिमा प्रवेश र शासनमा सहभागिताको ढोका फराकिलो बनाउनुपर्ने भन्दै शर्माले प्रस्तावमा लेखेका छन्, ‘मन्त्रिपरिषद् गठन गर्दा त्यस्तो विज्ञताको उपयोग गर्ने सम्बन्धमा संवैधानिक बन्दोबस्तका लागि अन्य दलहरुसँग पनि कांग्रेसले छलफल प्रारम्भ गर्ने छ ।’