१९ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनएलाई क्रियाशिल सदस्यबाट बञ्चित गर्नु अनुचित : युवराज गुरुङ, सभापति जनसम्पर्क समिति बेलायत

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०८०, बिहीबार २०:०४

काठमाडौं । नेपाली जनसम्पर्क समिति यूकेका सभापति युवराज गुरुङले कांग्रेस महासमितिको बैठकमा छलफल हुनुपर्ने विषय भन्दा धेरै बाहिरको विषयमा छलफल भएको बताएका छन् । ललितपुरमा जारी नेपाली कांग्रेसको महासमितिको बैठकमा विहीबार आफ्ना धारणा राख्ने क्रममा गठबन्धनको विरुद्धमा नबोल्न आग्रहसमेत गरेका हुन् ।

सभापति गुरुङले भने, ‘यो नीति अधिवेशन हो । नीति अधिवेशनमा जुन छलफल हुनुपर्ने विषय भन्दा पनि बाहिरको विषय धेरै छलफल भयो भन्ने धेरै साथीहरुको धारणा बुझेँ । गठबन्धन तोड्नुपर्छ भन्ने कुरामा म एकदम असहमति जनाउन चाहन्छु । यो गठबन्धन भनेको नीति हैन, आवश्यकता हो । यदि गठबन्धन नहुनु हो हिजो ७४ को चुनावमा नेपाली कांग्रेसको अवस्था कुन अवस्थामा थियो ? फेरी पनि गठबन्धन तोड्ने हो भने अवस्थामा पुग्नेछौं । गठबन्धन हाम्रो बाध्यता हो, त्यसैले गठबन्धनको विरुद्धमा कुनै पनि साथीहरु नबोल्दिन अनुरोध छ ।’

यसअघि सभापति गुरुङले नेपाली जनसम्पर्क समितिका सदस्यहरुबाट प्रतिनिधित्व गर्नेगरी केन्द्रीय सदस्यमा चयन गर्नुपर्ने धारणा राखेका थिए । ‘सम्पूर्ण गैरआवासीय नेपाली (एनआरएनए)लाई क्रियाशिल सदस्यबाट बञ्चित नहुने गरी विधानमा व्यवस्था हुनुपर्छ’, उनले भने, ‘र जनसम्पर्क समितिमा रहेको विदेशमा रहेका सम्पूर्ण साथीहरुको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा जनसम्पर्क समितिको तर्फबाट पनि क्लस्टर छुट्याएर केही सदस्यता मनोनित हुने अथवा निर्वाचित हुने अवसर प्रदान गर्नुपर्छ ।’
सभापति गुरुङले जनसम्पर्क समितिले मातृभूमिमा आइपरेका प्राकृतिक प्रकोप, दैवी प्रकोप तथा विभिन्न समस्या र अफ्ठयाराहरुमा सहयोग गर्दै आएको पनि बताए ।