७ जेष्ठ २०८१, सोमबार
Follow Us

राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रकै हुन्छ: जनार्दन शर्मा

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०८०, मंगलवार ०६:२९

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रियसभाको अध्यक्ष आफ्नो पार्टीकै हुने दाबी गरेका छन । हिजो सोमबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद शर्माले यस्तो बताएका हुन ।

उनले राष्ट्रियसभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन । उनले हालसम्म गठबन्धन दलहरुका बीचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमति नभएको बताएका छन् ।

उनले आगामी दिनमा सरकारको नेतृत्वमा आलोपालो हुँदा माओवादी केन्द्रसँग केही नहुने भन्दै राष्ट्रियसभा अध्यक्ष आफूहरुकै हुने बताएका छन । उनले भने, ‘राष्ट्रियसभाको सबभन्दा ठूलो दल हाम्रा हो ।’

उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रुपमा कसैको पनि सहमति भएको छैन, ‘ठूलो दलले दाबी नगरे कसले गर्ने र ? भोलि सरकारको आलोपालो होला ।

त्यतिबेला हामी त संसदमा पनि हुँदैनौँ । सरकारमा पनि हुँदैनौँ । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’ सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने बताएका छन ।

उनले कांग्रेस महासमिति बैठकमा जनयुद्ध लगायतका कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरुको आपत्ति रहेको बताएका छन ।