२७ बैशाख २०८१, बिहीबार
Follow Us

हुण्डी कारोबारको अभियोगमा चिनियाँ नागरिक पक्राउ

नेपालब्रिटेन संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार ०७:१४

काठमाडौं । अवैधरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चीनको सङ्घाई घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्ने २८ वर्षीय झोउ जियायु रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

काठमाडौं उपत्यकाभित्र गैरकानुनी रुपमा नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशनविपरीत हुण्डीमार्फत वित्तीय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनलाई काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका जियायुबाट नेपाली एक हजार दरको नोट रु आठ लाख तथा रु पाँच सय दरको नोट रु चार लाख बरामद गरिएको प्रवक्ता रेग्मीले बताए । उनलाई नेपाल राष्ट्र बैंकअन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।