२६ बैशाख २०८१, बुधबार
Follow Us

सुन तस्करलाई नागरिकता दिलाएको आरोप लागेका अधिकृत अर्याल पक्राउ

नेपालब्रिटेन संवाददाता
२४ फाल्गुन २०८०, बिहीबार १४:११

काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ गरेको छ ।

हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि यातायात कार्यालय काठमाडौंले, ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।

काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरी मकवानपुर प्रहरीले जिम्मा लगाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन । उनले भने, ‘नागरिकता सम्बन्धी मुद्दामा अर्याललाई पक्राउ गरी काभ्रे प्रहरीको जिम्मा लगाएको छ ।’

अर्यालमाथि काभ्रे जिल्ला प्रशासनमा रहँदा सुन तस्करीमा संलग्न विदेशीलाई नेपाली नागरिकता दिलाउन सहयोग पुर्याएको आरोप लागेको छ । अर्यालसहितका कर्मचारीमार्फत काभ्रे प्रशासनले सुन तस्करलाई वंशजका आधारमा नागरिकता दिइएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । चिनियाँ नागरिकलाई नागरिकता दिलाउँदा अर्याल नासु रहेका थिए ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । काभ्रे प्रशासनबाट २० पुस २०७४ मा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङलाई वंशजका आधारमा नागरिकता जारी भएको थियो । छिरिङ र वाङको नागरिकता विवरण नासु अर्यालले नै कम्प्युटर प्रणालीमा प्रविष्ट गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अर्याल २०७५ सम्म काभ्रे प्रशासनमा रहेका थिए । सिआईबीको अनुसन्धानबाट काभ्रे प्रशासनले विदेशी नागरिकलाई नागरिकता दिलाउन नयाँ नागरिकता जारी र राहदानीसम्बन्धी फाँटमा झपेन्द्रराज खरेलसँगै अर्याललाई पनि पठाएको खुलेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडा थिए ।

दावाले निमा तामाङका नाममा र वाङले पासाङ तामाङका नाममा नागरिकता लिएको अनुसन्धानबाट खुलेको थियो । नागरिकता सनाखत गराउने रामचन्द्र अर्याल र जारी गर्नेमा झपेन्द्रराज खरेल रहेको आधारमा उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।