२७ बैशाख २०८१, बिहीबार
Follow Us

संसद क्यालेन्डर अनुसार नै बैठक सञ्चालन हुन्छः सभामुख घिमिरे

नेपालब्रिटेन संवाददाता
१६ चैत्र २०८०, शुक्रबार ०५:४६

काठमाडौं । सभामुख देवराज घिमिरे स्वीटजरल्याण्डको जेनेभामा सम्पन्न अन्तर व्यवस्थापिका संघको महासभामा भाग लिएर आज स्वदेश फिर्ता हुनुभएको छ ।

उहाँलाई उपसभामुख इन्दिरा राना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । सभामुख घिमिरेले जेनेभामा सम्पन्न पाँच दिने महासभामा नेपालको तर्फबाट सहभागी सांसदहरुको नेतृत्व गर्दै महासभामा भाग लिनुभएको थियो ।

महासभामा संसदलाई कसरी प्रभावकारी बनाउने, विश्वमा देखापरेका भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जलवायु परिवर्तनजन्य समस्या समाधानमा संसदको भूमिका र संसदको प्रभावकारिताका विषयमा छलफल भएको पनि सभामुख घिमिरेले जानकारी दिनुभयो ।

सभामुखको गैरहाजिरीमा संसदको कामकारवाही रोकिएको र विधेयकहरु थन्किएको विषयमा संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिंदै सभामुख घिमिरेले संसदको क्यालेन्डर अनुसार नै अब संसद संचालन हुने बताउनु भयो । साथै संसदको अवरोध खोल्ने विषयमा पनि छलफल गरिने बताउनु भयो ।