१९ बैशाख २०८१, बुधबार
Follow Us

गैरआवासीय नेपाली संघ र नेपाल कानून आयोगका प्रतिनिधिबीच छलफल

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०८०, सोमबार १४:२१

काठमाडौ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल कानून आयोगका सचिव तोयानाथ अधिकारीसँग गैरआवासीय नेपाली नागरिकता र गैरआवासीय नेपाली सम्बन्धी ऐन सम्बन्धमा छलफल गरेको छ ।

संघका अध्यक्ष डा केसी लगायतका प्रतिनिधिहरुले हाल गैरआवासीय नेपाली नागरिकता लिएका गैरआवासीय नेपालीहरुले नागरिकता लिए पश्चात भोगेका समस्या बारे जानकारी गराएका थिए ।सो क्रममा गैरआवासीय नेपाली नागरिकलाई सांस्कृतिक, सामाजिक र आर्थिक अधिकार नेपाली सरहनै प्रयोग गर्न दिने क्रममा घरजग्गा सम्पत्ति (पैतृक सम्पत्ति समेत) प्राप्त र खरिद गर्न, साबिक वंशजको नेपाली नागरिकता त्याग गर्नुपूर्वको नेपाली नागरिकता प्रमाणपत्र नम्बर सहितको जग्गाधनी दर्ता प्रमाणपत्रमा गैरआवासीय नागरिकता नम्बर कायम गर्न लगायतका विषयमा सहज गरिदिन आग्रह गरिएको छ ।

यस्तै गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई पनि यस अगाडिको जस्तै नेपाल आउँदा र बस्दा भिसा लगाउन अनिवार्य रहेको प्रावधान यथावत् भएको भन्ने अध्यागमन कार्यालयका कर्मचारीले भन्ने गर्नुभएकोले नागरिकता लिएर नेपाल बसिरहनु भएका गैरआवासीय नेपालीहरुमा असहजता महसुस भएको हुँदा गैरआवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि अध्यागमन विभागमार्फत कार्यान्वयनको लागि आवश्यक व्यवस्था गर्न पनि आग्रह गरिएको छ ।

यस्तै, गैरआवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद र सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि असहज भइरहेको हु“दा उक्त कार्यका लागि सहजीकरण गर्न,गैरआवासीय नेपाली नागरिकलाई समेत नेपाली सरह बैंक खाता खोल्न र सञ्चालन गर्नका लागि पहल गर्न, गैरआवासीय नेपाल नागरिकलाई समेत नेपाली सरह धितोपत्र खरिद बिक्री गर्न, हितग्राही (डिम्याट) खाता खोल्न र सञ्चालन गर्न लगायत धितोपत्रमा लगानी सम्बन्धित सम्पूर्ण कार्यका लागि पहल गर्न, नेपाल कानुन आयोगले तयार पारेको गैरआवासीय नेपाली सम्बन्धी कानुनलााई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यादौमा उल्लेख भएका विषयलाई अन्तिम रुप दिई कानुन बनाउनको लागि अनुरोध गरिएको छ ।

कानून सचिव अधिकारीले हाल गैरआवासीय नेपाली नागरिकता पश्चात देखिएका समस्याहरुलाई सरोकारवाला निकायसंग छलफल गरि देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । गृहमन्त्रालयले नेपाल कानुन आयोगलाइ गैरआवासीय नेपाली नागिरकता वितरण पश्चान देखिएका समस्यहरुबारे संघ संग सुझाव लिन अनुरोध गरेपश्चात नेपाल कानून आयोगका सचिवले संघका अध्यक्ष लगायत प्रतिनिधिहरुलाई छलफल कार्यक्रम बोलाउनु भएको हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, गैरआवासीय नेपाली नागरिकता विषय हेर्ने परामर्शदाता सरोज दाहाल, संघका कानुनी परामर्शदाता तेजेन्द्र गिरी र बरिष्ठ अधिकृत अनिल ढुंगानाको सहभागीता थियो ।