१२ श्रावण २०८१, शनिबार
Follow Us

संसद्को संयुक्त बैठक जेठ १ मा राष्ट्रपतिले सम्बोधन गर्नुहुने

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०८१, शनिबार ०६:३९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यलाई उपस्थित हुन आह्वान गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो । मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ ।

“सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सदस्यको उपस्थिति आह्वान गर्नुभएकाले उक्त मिति, समय र स्थानमा सङ्घीय संसद्का माननीय सदस्यहरुको उपस्थितिका लागि सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम ३ को उपनियम १ बमोजिम यो सूचना जारी गरिएको छ”, सूचनामा भनिएको छ । सबै सांसदलाई उक्त दिन २:४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भइ सक्न भनिएको छ ।