४ असार २०८१, सोमबार
Follow Us

इजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०८१, आईतवार १६:४०

काठमाडौँ । हमासले इजरायलको तेल अवीवमा रकेट प्रहार गरेको जनाएको छ । विगत चार महिनामा हमासले इजरायलको एक भाग तेल अवीवमा रकेट प्रहार गरेको यो पहिलो पटक हो ।

इजरायली सेनाले गाजाको रफाहबाट ८ वटा रकेट प्रहार गरिएको र तीमध्ये अधिकांशलाई खसालिएको बताएको छ ।

इजरायली सेनाले रफाहमा ठूलो सैन्य कारबाही गरिरहेको छ। इजरायलका प्रधानमन्त्री नेतन्याहुले रफाहमा ठूलो कारबाही नगरी हमासलाई हराउन नसकिने बताएका छन् ।

हमासको सैन्य शाखा, इज्जेदिन अल-कसाम ब्रिगेड्सले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमा इजरायलमा ‘ठूला मिसाइलहरू’ आक्रमण गरेको बताएको छ ।

यसैबीच अमेरिकालगायत धेरै मानवीय संस्थाले रफाहमा भइरहेको सैन्य कारबाहीका कारण प्यालेस्टाइनीको ज्यान जोखिममा रहेको बताएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली आक्रमणका कारण ३५ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो । हमासका लडाकुहरूले पनि २५२ जनालाई बन्धक बनाएका थिए ।