१४ असार २०८१, बिहीबार
Follow Us

डायसपोरालाई नेपालसंग आर्थिक रुपमा जोड्नु पर्छ : सुनिता डंगोल, उपमयेर, काठमाण्डौं महानगरपालिका

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०८१, मंगलवार २०:४४

लण्डन । काठमाण्डौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले विदेशमा रहेका नेपालीहरुलाई सांस्कृतिक र आर्थिक रुपमा देशसंग जोड्नु पर्ने बताएकी छन् ।
नेपाली दूतावास लण्डनद्वारा मंगलबार आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले अबको समयको माग आर्थिक कनेक्सन रहेको बताइन् ।

‘आर्थिक विकासको लागि उत्पादनमा जोड दिनु पर्छ । नेपाली उत्पादनलाई विश्वबजारमा लैजानको लागि काठमाण्डौं महानगरपालिका विदेशमा बस्ने नेपालीहरुसंग सहकार्य गर्न तयार छ,’ उनले भनिन् ।

उनले दोस्रो पुस्ताले नेपाली भाषा बोल्न छोडेको प्रति चिन्ता व्यक्त गर्दै विदेशमा नेपाली चिनाउन र नेपालीको पहिचान देखाउनको लागि नेपाली भाषा विद्यालयस्तरबाटै अध्ययन अध्यापन गर्ने व्यवस्था हुनु पर्नेमा जोड दिइन् ।

‘संसारमा नेपालीहरु छरिएका छन्। बेलायतमा धेरै नेपालीपन भएको महशुस गरेकी छु । दशैं र बिस्केटजात्राले आफन्त र आफ्नोपन महशुस हुने गरेको छ । संसारका जुनसुकै कुनामा गए पनि नेपालीपन रहन्छ, ‘यो मन त नेपाली हो’ त्यसैले भनिएको हो,’ उनले भनिन्।

उनले काठमाण्डौं महानगरपालिकाले वार्ड वार्डमा महिला संन्जाल स्थापना गरेर लैगिंक हिंसासम्बन्धी सुनुवाई गरि रहेको पनि बताइन् । उनले महानगरपालिकाले एक वार्ड एक नमुना कार्यक्रम साथसाथै उत्पादन, रोजगारी, शिक्षा, बुक फ्री फ्राइडे, सिप र शिक्षा, सिप र बजारसंग जोड्न तथा स्वास्थ्य क्षेत्रमा सुधारका कामको थालनि गरेको बताइन् ।

माटोको भाडा बनाउने, सुकुल बनाउने जस्ता मौलिक सिपलाई बजारीकरण गर्ने नीति लिइएको पनि उनले बताइन् ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले गणतन्त्रको जगमा नयाँ संविधान, लोकतान्त्रिक बहुदलिय गणतन्त्र, संघियता, प्रेसस्वन्त्रता, समावेशीता, मानवअधिकारको ग्यारेन्टी र आर्थिक सामाजिक लक्ष तय भएको विचार व्यक्त गरे ।

बहुभाषिक बहुसाँस्कृतिक मुलुक भएकोले संविधानले प्रत्याभूति गरेका लक्षहरु पुरा हुने उनले विश्वास व्यक्त गरे ।

दूतावासकी उपनियोग प्रमुख रोशन खनालले संचालन गरेको कार्यक्रममा राजदूत आचार्यले बेलायत र नेपालको पुरानो सम्बन्धमा भूपुगोर्खाहरुको उल्लेख्य योगदान रहेको चर्चा गर्दै बेलायतमा नेपाली डायसपोराले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा बेलायतस्थित विभिन्न समाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, बिभिन्न पेशमा संलग्न व्यक्तित्व लगायतको बाक्लो उपस्थिति थियो ।
डंगोल मेन्चेस्टर शहरमा आयोजित ४ दिने ‘वुमन अफ दि वर्ल्ड’ विश्व महिला सम्मेलनमा भाग लिन बेलायत आएकी हुन् ।