१४ असार २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीले १० पटक फोन गर्दासमेत कर्मचारीले टेर्दैनन्: सीके राउत

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०८१, बुधबार १४:१२

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन समेत कर्मचारीले नमान्ने अवस्था रहेको बताएका छन ।

आज (बुधबार) नेसपाको पार्टी स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

१० वर्ष जनक्रान्ति गरेर राजनीतिक र सामाजिक परिवर्तन ल्याएका प्रधानमन्त्री प्रचण्डलाई समेत कर्मचारीले नटेर्ने गरेको उनको भनाइ थियो ।

उनले भने, ‘दश वर्षमा माओवादीले ठुलो जनक्रान्ति गर्‍यो । राजनीतिक र सामाजिक धेरै परिवर्तन आए । क्रान्तिको नेतृत्व गरेका प्रचण्ड अहिले प्रधानमन्त्री छन् ।

मेरै अगाडि प्रधानमन्त्रीले १० पटक कर्मचारीलाई फोन गर्दा टेर्दैनन् । त्यस्तो अवस्था छ, राज्य संयन्त्रको । त्यसका लागि सडकबाट नै आन्दोलन गर्नुपर्छ ।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै विकृतिसमेत बढेको दाबी गरेका छन । उनले विकृति हटाउन अब प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक तथा प्रत्यक्ष निर्वाचित संसद् हुनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना भयो तर विकृति पनि छ । राजनीतिक अस्थिरता बढ्यो । प्रदेश सरकार समेत हप्तैपिच्छे ढल्ने हो कि भन्ने चिन्ता छ ’, उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा ढुक्कले पाँच वर्ष शासन चलाउन पाइन्छ ।’