६ श्रावण २०८१, आईतवार
Follow Us

८ महिनामा २,५५४ जनाले लिए एनआरएन नागरिकता

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०८१, बिहीबार ०५:१६

लण्डन । पछिल्लो केहि महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ।

गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ। अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए।

अध्यागमन कार्यालयका अनुसार सनु २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर० लिएर नेपालबाट विदेश गएका थिए। नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्या बढेको बताउँछन्।् ।

“गत वर्ष गैर आवासीय नेपाली नागरिकता थिएन। यो वर्षबाट दिन थालियो। एनआरएनले नागरिकता लिन पहिलेको नेपाली नागरिकता त्याग गर्नुपर्छ। त्यस कारण पनि नागरिकता त्याग गर्नेहरूको सङ्ख्या बढी देखिएको हो,” भट्टराईले भने।

“शत प्रतिशत त होइन। तर पछिल्लो पटक नेपाली नागरिकता त्याग्ने अधिकांशले एनआरएन नागरिकता लिएका छन्।”

नयाँ संविधान अनुसारको नागरिकता ऐन बनेपछि गत वर्ष असोज ३० गतेबाट नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो।

गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अधिकृत नारायण खत्रीका अनुसार विगत १० महिनामा २,५५४ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको बिबिसीले जनाएको छ ।

गैरआवासीय नागरिकताधारीहरूले नेपाल आउँदा भिसा लगाउनु पर्ने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्ने र गैरआवासीय नेपाली नागरिकता लिनेहरूको सङ्ख्या अद्यावधिक हुने क्रममा रहेकाले त्यस्तो सङ्ख्या अझै बढी हुनसक्ने जनाएको छ।

यसअघि गृह मन्त्रालयले सबैभन्दा धेरै गैरआवासीय नेपाली नागरिकता काठमाण्डूबाट जारी भएको जनाएको थियो। गैरआवासीय नेपालीहरूले आफ्नो पुरानो नेपाली नागरिकता जारी भएकै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता लिनुपर्ने नियम छ।

नागरिकता त्याग गर्न पनि सम्बन्धित जिल्लामै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराई बताउँछन्।

नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ। जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ।

गृह मन्त्रालयका अनुसार अधिकांश नेपालीहरूले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता त्यागको प्रक्रिया अघि बढाउने गरेका छन्।्

यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कलप्रति पनि बुझाउनुपर्छ।

प्रमुख जिल्ला अधिकारीले नागरिकता त्याग सम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुने नियम छ।