काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या आरोपमा पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय, जवान उत्तम थापा र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा पक्राउ परेका व्यक्तिहरू कारागार पठाइएका हुन् ।
असई रायको हत्या आरोपमा सिन्धुपाल्चोक–४ का ६२ वर्षीय होमप्रसाद पौडेल र उदयपुर–१० का २८ वर्षीय टिकाराम विक पक्राउ परेका थिए । दुवैविरुद्ध कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
प्रहरी जवान उत्तम थापाका हत्या आरोपमा काभ्रे रोशी–९ का २८ वर्षीय युवराज क्याप्छाक र मकवानपुर थाहा–७ का २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) पक्राउ परेका छन् ।
सहायक हवल्दार अमृत गुरुङको हत्या आरोपमा कैलाली–४ का १९ वर्षीय अनुयम भण्डारीलाई पुर्पक्षका लागि कारागार पठाइएको छ । भण्डारीले काठमाडौंको क्रिकेट एकेडेमीदेखि भारतसम्म प्रशिक्षण लिएका थिए ।
जेनजी आन्दोलनमा ३ प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो । अहिले पनि ७ जना हिरासतमा रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सोम गुरुङ, राजिव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ, दिपक मगर, अलिश श्रेष्ठ र सौरभ तामाङ हिरासतमा रहेका छन् । अनुसन्धान अन्तिम चरणमा पुगेको कारण केही दिनभित्र मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ ।