१७ कार्तिक २०८२, सोमबार
Follow Us

दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृत्यु, ८ जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
१७ कार्तिक २०८२, सोमबार १२:३०

काठमाडौं । दोलखाको रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । उक्त हिमपहिरोमा परेर ४ जना घाइते भएका छन् भने ८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन ।

नेपाली गाइड सहित सोमबार बिहान यलुङ रि हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो । दोलखाको रोल्वालिङ क्षेत्रको ५ हजार ६ सय ३० मिटर अग्लो ‘यलुङ रि’ शिखरको हिमपहिरोमा परेका विदेशीसहित नेपालीको खोजी प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीनहरूको खोजी र उद्धारका लागि हेलिकोप्टर त्यसतर्फ गए पनि मौसमको कारण बस्न नसकेको प्रहरीको भनाइ छ ।

रोल्वालिङ क्षेत्रमा हेलिकोप्टर उडानका लागि प्रतिबन्धित क्षेत्र भएकाले प्रशासनले अनुमति दिएर उड़ान हुने गर्छ । भौगोलिक विकटताका कारण प्रहरी अझै घटनास्थल पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको