काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आफूभन्दा कम अंक प्राप्त गर्नेलाई नियुक्ति दिइएको भन्दै बोर्डका पूर्वकार्यकारी निर्देशक धनन्जय रेग्मीले मंगलबार रिट दायर गरेका हुन् । रिटमा नेपाल पर्यटन बोर्डसहित नियुक्त प्रक्रियामा संलग्न ७ जनालाई विपक्षी बनाइएको छ । बोर्डको कार्यकारी निर्देशकमा केही दिनअघि दीपकराज जोशी नियुक्त भएका थिए ।
रेग्मीले जोशीको नियुक्ति र नियुक्ति पत्र समेत बदर गरी आफूलाई नियुक्ति दिलाउन परमादेश माग गरेका छन् । मुद्दाको अन्तिम किनारा नलागेसम्म जोशीको नियुक्ति कार्यान्वयन नगर्न/नगराउन विपक्षीका नाममा परमादेशको माग पनि उनले गरे ।
रेग्मी १६ माघ २०८० मा कार्यकारी प्रमुखको कार्यकाल सकिएपछि अवकाश पाएका थिए । गत २४ चैतमा बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि आवेदन माग गरी सूचना प्रकाशित भएको थियो ।
२० भदौमा कार्यकारी समितिले उम्मेदवारहरुको परीक्षा लिएको थियो । जसमध्ये उत्कृष्ट अंक ल्याउने तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान भए पनि सूचीको पहिलो नम्बरमा परेको आफूलाई नियुक्ति नदिइएको जिकिर उनको छ ।