नारायण भण्डारी । अस्टिन । टेक्सास । मार्मिक शब्दहरुका मनछुने भावना मिठो लयमा कर्णप्रिय आवाजका साथ गुन्जन थालेपछि हलमा उपस्थित सबैका कान र ऑखाहरु स्टेज तिरै सोझिए । परदेसिएकै भएपनि नेपाली मनले त्यो आबाजको भेउ पाईहाले । हातमा माइक्रोफोन बोकेर स्टेजमा चढदै गरेकी रचना रिमालले सुरु गरिन “ मखमली फुल्दा मार्सी धान झुल्दा…….नमुसे आमा दहिमा टिका नछरे जमरा….वरिष्ठ लोक गायक, संगीतकार एवं संकलक नारायण रायमाझीको चर्चित यो गीतले नछुने कुनै नेपाली मुटु छैन होला ।
स्टेजमा यो गीत गाउदै रिमालले हलको चारतिर छरिएर बसेका सबै संगीत प्रेमीलाई स्टेजको मझेरी मै डाकिन र यस्तै मन छुने करिव एक दर्जन लोकप्रिय गीत गाईन । स्टेजलाई तडक भडकले उचाल्ने भन्दा पनि उनको प्रस्तुति शालीन रह्यो । सुरिलो स्वरमा दर्शक स्रोतालाई नचाउदै उनले फोटो फ्रेममा, मेरो प्रिति पहिले होकी, संझने पानी छम्कने , जस्ता मन छुने करिव एक दर्जन गीत गाईन ।
गोर्खा ग्रुपले आयोजना गरेको अब नाच्छ अस्टिन कार्यक्रममा प्रस्तुती दिन आईतबार टेक्सासको राजधानी अस्टिन आएका लोकप्रिय कलाकारहरु शान्ति श्री परियार, रचना रिमाल, करिश्मा ढकाल र ज्योति मगरले अस्टिनवासी नेपालीलाई रहर पुग्ने गरि नचाए ।
“गीत संगीतले देस संझाउदो रहेछ, भाषाले मनहरु जोडिरहदो रहेछ, आफ्नो देसका कलाकार संग रम्न पॉऊदा एकछिन भए दुख बिर्सायो, नेपालै पुगे जस्तो भयो” एक दर्शक स्रोताले आफ्नो अनुभव सुनाए ।
कार्यक्रममा प्रस्तुती दिन अर्की चर्चित लोकगायिका शान्ति श्री परियार स्टेजमा आएर गाउन सुरु गरेपछि स्रोता नहल्ली वस्नै सकेनन, कसैलाई नाच त भन्नै परेन, जानेका सुरमा नाचे, नजान्नेले सरिरै हल्लाएर भएपनि नाच्ने धोका पुर्याए ।
उनले गाएका “वोल माया एक वचन बोल तिम्रै वोली छ मलाई अनमोल, लाउन्न दाजै पिरती, अरेली कॉडैले, लाहौर जाने रेलैमा, हिजो राती सपनीमा, गलवन्दी च्यातियो, नेपालीले औंधी रुचाएका गीत हुन । उनले संघर्ष गरेर अमेरिका आई वसेका नेपालीलाई साहानुभूति दिदै दुख र सुखलाई समान रुपले लिनु पर्ने सुझाब पनि दिईन । नेपालीकै मायाले आफु याहॉ पाउन पाएको भन्दै उनले सबै दर्शक श्रोतालाई धन्यबाद दिईन । कलाकार करिश्मा ढकालले स्टेजमा नाचेर सबैलाई चकित पारिदिईन ।
कार्यक्रममा फुर्तिलो प्रस्तुति दिदै ज्योति मगरले सबैलाई रसिक वनाईदिईन । जोशिला युवा जमातलाई उनको नाच्ने र गाउने शैलीले छुट्टै मज़ा दिन्छ । महफिल तताउन उनले गर्ने मेहनेत र जॉगरलाई रंग रमाईलो गर्ने गराउने रहरकै रुपमा लिनु पर्छ ।