लण्डन । परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशमा बस्ने नेपालीहरूको लागि छुट्टै बलियो संयन्त्रको आवश्यकता रहेको बताएकी छन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाले उनको सम्मानमा शुक्रवार न्युयोर्कमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री देउवाले उक्त कुरा बताएकी हुन्।
उनले भनिन्, “हाम्रो ठूलो डायस्पोरा (प्रवास) बाहिर छ। उनीहरूमध्ये धेरैजसोमा उच्च सीप भएका व्यक्ति छन्। मन्त्रालयमा भएको सानो संयन्त्रले यो समस्या सम्बोधन गर्न मुस्किल पर्छ। अन्य देशमा ओभरसिज मन्त्रालयको पनि प्रयोग भएको देखिन्छ, त्यसैले हामीले सबैलाई समेट्ने साझा संयन्त्र बनाउने सोच बनाएका छौं।”
उनले गैरआवासीय नेपाली संघको स्थापना सही समयमा भएको बताउँदै, सरकारले संघसँग मिलेर काम गर्नुपर्नेमा जोड दिइन्। साथै, उनले मन्त्रालयमा ‘डायस्पोरा डिभिजन’ नै बनाएर अघि बढ्न सकिने विचार व्यक्त गरिन्। गैरआवासीय नेपालीहरूको हक र अधिकारबारे संविधानले स्पष्ट व्यवस्था गरेको पनि उनले उल्लेख गरिन्। उनले गैरआवासीय नेपाली नागरिकता र परिचयपत्रको विषयमा एकरूपता ल्याउन छलफल भइरहेको जानकारी दिइन्।
कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले जनसम्पर्क समितिका अधिकारहरूलाई कटौती नगर्न सुझाव दिए।
उनले जनसम्पर्क समितिहरूले पार्टी र देशको हितका लागि सक्रिय रूपमा काम गरिरहेको पनि बताए।