२५ माघ २०८१, शुक्रबार
Follow Us

दसैँ र तिहार लगत्तै व्यवस्था र सरकार दुवै फाल्नुपर्छः राप्रपा

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०८१, शनिबार १३:१९

काठमाडौं । राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता भएको बताएका छन । आज शनिबार काठमाण्डुमा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको पनि बताएका छन । उनले अहिले सरकार र सत्ता पक्षका नेताहरू जनताको घरदैलोमा जान त परै जाओस् सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप समेत लगाएका छन ।

उनले भने, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममा पनि आउन डराए । यिनीहरू अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जाँदा कार्यक्रम स्थगन गर्ने, वास्तवमा यिनीहरूको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भइसक्यो ।

गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’ शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए । उनले भने, ‘मौसम पूर्वानुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो ।

तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घटना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरूलाई फाँसी दिइन्थ्यो ।’