लण्डन । गैरआवासीय नेपाली संघले संस्थाको स्थापना दिवस (एनआरएनए डे) मनाउने तयारी गरेको छ ।
नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ ।
समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ ।
गैरआवासीय नेपाली दिवसको शुभ अवसरमा संस्थाले शुक्रवार विहान स्वयम्भू नाथ र पशुपति नाथमा पुजा गर्ने कार्यक्रमको आयोजना भएको संघले जनाएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार स्थापना दिवसको अवसरमा संघले अक्टोवर पुरै महिना बिभिन्न संस्थागत तथा परोपरकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको छ ।
संघले स्थापना दिवसको मुल समारोह तथा वार्षिक साधारणसभा भने आगामी अक्टोवर २७ र २८ तारिख काठमाण्डौंस्थित होटल सोल्टीमा आयोजना गर्ने तयारी गरेको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ । वार्षिक साधारणसभामा संस्थाको सांगाठानिक तथा आर्थिक प्रतिवेदन पेश हुने संघका महासचिव गौरीराज जोशीले जानकारी दिए ।
संघको वार्षिकोत्सव तथा एनआरएनए डे मनाउनको लागि संस्थाका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा एक उच्चस्तरिय समिति गठन गरेको थियो । विदेशमा रहेका नेपाली र नेपाली मुलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पर्–याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरुको सकृयतामा सन् २००३ अगष्टमा लण्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोवर ११ – १३ तारिखमा काठमाडौमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो।
लण्डन बैठकमा बेलारुसबाट डा. उपेन्द्र महतो, रसियाबाट भिम उदास र जीबा लामिछाने, जर्मनीबाट रामप्रताप थापा, अमेरिकाबाट श्रीमान श्रीमती राज उपाध्याय, अष्ट्रेलियाबाट दिपक खड्का, क्यानाडाबाट कुञ्जर शर्मा, बेलायतबाट डा.राघव धिताल, चिरञ्जीवी ढकाल, हरिविभोर कार्की, निमा लामा, महन्त श्रेष्ठ, ध्रुव केसी, माधवलाल श्रेष्ठ, बालमकुुन्द जोशी लगायतको उपस्थिति थियो ।