लण्डन । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई जापानस्थित अध्यागमन विभागले विमानस्थलबाटै डिपोर्ट गरेको छ ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिएपछि मन्त्रालयमै पत्रकार सम्मेलन गरे।
पत्रकार सम्मेलनमा उनले आफूलाई ‘मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको तर थाहा पाएपछि विमानस्थलबाटै फर्केको’ दावी गरे । तर, प्रहरी स्रोतले दिएको जानकारीअनुसार मन्त्री अधिकारीसँगै गएका अरू तीन जना र उनलाई जापानी प्रशासनले विमानस्थलबाटै डिपोर्ट गरेको हो ।
‘तस्कर गिरोह’ ले आफूलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेको जानकारी पनि उनले दिए।
उनी कात्तिक १३ मा जापानका लागि उडेका थिए भने कात्तिक १७ मा फर्किएका थिए। खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानी अध्यागमनले डिपोर्ट गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।
यो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ७ जनालाई पक्राउ गरिसकेको अधिकारीले बताए। आन्तरिक मामिला मन्त्रालयलाई प्रदेशको गृह मन्त्रालयका रूपमा पनि चिनिन्छ।
सोही मन्त्रालयका मन्त्री भने सरकारी प्रक्रिया नर्पुयाइ सुटुक्क जापान पुगेको र मानव तस्करहरुलाई साथ दिएको अभियोग लागेर पदबाट राजीनामा दिन बाध्य भएका छन्।
अधिकारीका अनुसार उनलाई टोकियोमा हुने सांस्कृतिक कार्यक्रममा निम्त्याइएको थियो। उनले हङकङ पुगेपछि मात्रै गिरोहबारे थाहा पाएको दाबी गरेका छन्।
‘जनक राई, दावा शेर्पा, कन्चन देवकोटा नामका तीन जनालाई मन्त्रीसँगै जापान छिराउन लागिएको खुलेको छ।
‘उनीहरूसँग मन्त्रालयको नक्कली कार्डसमेत रहेछ,’ अधिकारीले भने। आफूलाई जापान लैजाने समूहबारे भने अधिकारीले केही पनि खुलाएनन्।् ।
अधिकारीको दाबी छ, ‘तस्करहरूले मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि म फर्किएँ। म नेपाल आएपछि उनीहरू पनि जापान जान पाएनन्।’
उनले थपे ‘नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङकङबाट जापान उडाउन खोजेका थिए। हङकङ एयरपोर्टमा पुगेपछि मात्रै मैले यो कुरा थाहा पाएँ,’ उनले भने।
मोरङको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर २ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित एमालेका अधिकारी पहिलो कार्यकालमा पनि सुनकाण्डका तस्करको पक्षमा वकालत गरेको भन्दै विवादमा परेका थिए।