२८ मंसिर २०८१, शुक्रबार
Follow Us

बेल्जियममा ढुकुटीको ठगी संजाल: २ सय नेपाली ठगिए (भिडियो)

नेपालब्रिटेन डट कम्
२२ कार्तिक २०८१, बिहीबार १५:३५

२ सय जनाको ५० लाख यूरो हिनामिना

लण्डन । बेल्जियमस्थित नेपाली समुदायमा फैलिएको ढुकुटी ठगीको डरलाग्दो संजालले सयौं नेपालीलाई ठगेको छ।

करिब १० हजार भन्दा बढी नेपाली बसोबास गर्ने लुभेन, ब्रुज, आथ्रोपेन जस्ता बेल्जियमका शहरमा गैरकानूनी रूपमा ढुकुटी चलाउने गिरोह सक्रिय रहेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमकी महासचिव रुबिना शर्माका अनुसार यस ठगी संजालका हर्ताकर्ता नेपाली समुदायकै प्रतिष्ठित अगुवा र व्यवसायीहरू रहेका छन्। साना तथा ठूला व्यवसायीहरू पनि यो गिरोहमा संलग्न रहेका छन्।

बेल्जियमको आथ्रोपेनकी लक्ष्मी शर्माले टिकटक मार्फत आफू ठगीको शिकार भएको बताइन्। “ढुकुटीमा हालेको पैसा मैले चोरेर ल्याएकी हैन,” उनले भनिन्, “बुढा र छोराले दुःखले कमाएको पैसा हो। पैसा छोड्न तयार भए पनि फिर्ता पाइँन, उल्टै गालीगलौज गरियो।”

त्यसैगरी, अर्को ढुकुटी पीडित राधिका श्रेष्ठले ढुकुटी डुबेपछि मानसिक समस्यामा परेको बताइन्। “सुरुमा हाम्रो पैसा लिइयो, अहिले उल्टै कालो पैसा हो भनी हिँडिरहेका छन्। पैसा उठाउन जाँदा प्रहरी लगाइएको छ,” उनले गुनासो गरिन्।

स्थानीय पत्रकार सन्तोष न्यौपानेका अनुसार ढुकुटी खेलाउने मध्ये अधिकांश महिला हुन् र तिनीहरूको संख्यालगभग २० जनाको रहेको छ। अहिलेसम्म करिब २ सय जना नेपालीहरू यस ठगीको शिकार भएका छन् र पछिल्लो अनुमानमा करिब ५ मिलियन युरोको कारोबार भएको छ।

ढुकुटीमा पैसा कसरी डुब्छ?

ढुकुटी एउटा गैरकानुनी आर्थिक कारोबार हो। त्यसताका ढुकुटी खेल्ने निकै हुन्थे। ढुकुटी निश्चित संख्यामा तोकिएका व्यक्तिहरु मिलेर खेलिन्छ। खेलको नियमअनुसार ढुकुटी खानेले तोकिएको निश्चित ब्याज तिर्नुपर्छ। यो ब्याज रकम थप्दै लगानी गरिरहेका सदस्यहरूमाझ दामासाहीले बाँडिन्छ।

अन्तिममा ढुकुटी खानेलाई फाइदा हुन्छ। तर अन्तिमसम्म ढुकुटीमा पैसा बुझाउँदा बीचमै कसैले गडबड गरेमा पूरै रकम डुब्ने खतरा हुन्छ।

कति रकमको ढुकुटी खेल्ने भन्ने विषय खेल्ने समूहका सदस्यहरुको रकम निकाल्न सक्ने क्षमतामा निर्भर हुन्छ। ठूलो ढुकुटीको नियमित किस्ताको रकम तिर्न नसक्नेहरूले बीचमा पैसा खाएर भाग्दा ढुकुटी डुब्छ।