२७ मंसिर २०८१, बिहीबार
Follow Us

नेपालमा लगानी गर्नुहोस्, सरकारले सहयोग गर्छः सांसद एलपी सावाँ

नेपालब्रिटेन डट कम्
२९ कार्तिक २०८१, बिहीबार २०:२९

लण्डन – झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधित्व गर्ने सांसद एलपी (लाल प्रसाद लिम्बु) सावाँले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई नेपालमा लगानी गर्न प्रेरित गरेका छन्। बेलायत भ्रमणको क्रममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा सांसद सावाले राजनीतिक स्थिरता कायम हुँदै जाँदा नेपालमा लगानीको वातावरण पनि बन्दै गएको बताउँदै आर्थिक समृद्धिको ढोका खोल्न एनआरएनहरुको भूमिकामा जोड दिएका हुन्।

प्रवासी नेपाली मंच बेलायतको आयोजनामा बिहीवार नर्थह्यारोस्थित सारस रेष्टुरेन्टमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सांसद सावाँले गैरआवासीय नेपालीहरुको नागरिकता अधिकार छिट्टै सुनिश्चित हुने बताउँदै एनआरएनहरुलाई नेपालको विकास र समृद्धिमा हातेमालो गर्न आग्रह गरे। “नेपालमा अहिले राजनीतिक स्थिरता स्थापनाको चरणमा छ, र यो स्थायित्वले आर्थिक क्रियाकलाप र लगानीको क्षेत्रमा राम्रो सम्भावना खुलाएको छ,” उनले भने।

कार्यक्रममा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय परिषदकी सदस्य सरस्वती केसीले स्वागत मन्तव्य दिएकी थिइन्। उनले बेलायतमा रहेका नेपालीहरुको नेपालप्रतिको योगदानको चर्चा गर्दै नेपाल सरकार र गैरआवासीय नेपालीबीचको सहकार्यलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिइन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिमखडाले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ढिलाइ हुँदा विभिन्न समस्याहरु आएको उल्लेख गरे। उनले नेपाल सरकारसँग सहकार्य गर्दै एनआरएनएले यो विषयलाई हल गर्न अघि बढ्ने प्रतिबद्धता पनि जनाए। “नेपाल सरकार र गैरआवासीय नेपालीबीच गहिरो साझेदारी आवश्यक छ,” सिमखडाले भने।

मंचका अध्यक्ष टुंगा भुषालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनएका अधिकार, नेपालमा लगानीका अवसरहरु र सरकारी कार्यशैलीबारे व्यापक छलफल गरियो। कार्यक्रममा पूर्वअध्यक्ष सुरेन्द्र थपलिया, एनआरएनए यूकेका पूर्वमहासचिव विजय लिङदेन, बाग्लुङ क्याम्पसका पूर्व प्राध्यापक मिलन केसी, नेपाल पत्रकार महासंघ बेलायतकी साधारण सदस्य बिमला सेने लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो।

यस अवसरमा सहभागी वक्ताहरुले गैरआवासीय नेपालीहरुको नागरिकताको विषय, नेपाल सरकारको प्रवासीहरुप्रति भएको समर्पण, र नेपालमा सम्भाव्य क्षेत्रहरुको पहिचान गरी दीर्घकालीन र सुरक्षित लगानीमा जोड दिए।