लण्डन । नेपालब्रिटेन डट कमको मल्टिमिडिया सम्पादकका रूपमा रमेश खनाललाई नियुक्त गरिएको छ।
अर्घाखाँची, नेपालका मूल निवासी खनाल विगत सात वर्षदेखि नेपाली मिडियामा सक्रिय छन्। उनी भिडियो उत्पादन र सम्पादनमा दक्ष रहेका छन्। खनाल हाल बेलायतमा तीन वर्षदेखि ब्लगरको रूपमा पनि परिचित छन् र मिडल्याण्ड क्षेत्रमा सामाजिक सञ्जालका एक प्रभावशाली प्रयोगकर्ताका रूपमा चिनिन्छन्।
खनालले नेपालब्रिटेन डट कमको मल्टिमिडिया सम्पादकको जिम्मेवारी स्वीकार गर्दै आफ्नो अनुभव र सीप बेलायतस्थित नेपाली समुदायमा पुर्याउने प्रतिवद्धता जनाएका छन्। उनले भने, “मैले सीकेको ज्ञान र सीपलाई नेपाली समुदायका लागि उपयोगी बनाउने प्रयास गर्नेछु।”
खनालले आफ्नो कार्यकालको पहिलो चरणमा बेलायतस्थित नेपाली समुदायको आवाजलाई टिकटक, फेसबुक र यूट्यूब जस्ता सामाजिक मिडिया प्लेटफर्म मार्फत ‘ग्लोबल भ्वाईस’ को रूपमा प्रस्तुत गर्ने योजना बनाएका छन्।
नेपालब्रिटेन डट कमका अध्यक्ष चिरन्जीवी ढकालले खनाललाई अडियो र अन्य मिडिया सामग्रीको सम्पादन र उत्पादन, सामग्री व्यवस्थापन र मिडिया फाइलहरूको व्यवस्थापन लगायतका जिम्मेवारी दिएका छन्।
अध्यक्ष ढकालले खनालको योगदानले नेपालब्रिटेन डट कमको सफलता र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।