काठमाडौ । साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीको मुद्दामा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस आजपनि हुँदैछ । थुनछेक बहसका लागि गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपाका संस्थापक सभापति रवि लामिछानेलाई हिजो प्रहरी हिरासतमा पठाइएको छ।
आज कार्यालय समयपछि अदालतमा थुनछेक बहस जारी रहनेछ । लामिछाने अदालतमा बुधबार बिहानै हाजिर भएका थिए। उनको बयान लिएर थुनछेक बहस सुरु गरिएको थियो। वादीका तर्फबाट सरकारी वकिलको बहस सके पनि जोहरवालाका तर्फबाट एक जना कानुन व्यवसायीले मात्रै बहस गरेका छन्।
बाँकीले आज बहस गर्नेछन । जाहेरवालाका तर्फबाट थप तीन कानुन व्यवसायी र प्रतिवादी लामिछानेका तर्फबाट १० कानुन व्यवसायीको बहस बाँकी छरु। सरकारी वकिल र जाहेरवालाका पक्षका कानुन व्यवसायीको बहस सकिएपछि लामिछानेका पक्षका कानुन व्यवसायीको बहस सुरु हुनेछ।
बहस सुनेर न्यायाधीशले मुद्दा किनारा नलाग्दासम्म प्रतिवादीलाई थुनामा राख्न कारागार पठाउने, धरौटी लिएर या बिनाधरौटी साधारण तारिखमा छाड्ने भन्ने आदेश दिनेछन्रु। सरकारी वकिलको कार्यालयले १५ जनाविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा पूरक अभियोगपत्र दायर गरेको थियो।
सहकारीको मुद्दामा दुई पटक गरी अभियुक्त बनाइएका ३२ जनामध्ये १२ जनालाई सहकारी ठगी तथा संगठित अपराध दुवैमा र लामिछानेसहित २० जनालाई भने ठगीमा मात्र अभियोजन गरिएको छ। अभियोगपत्रमा साहारा चितवन बहुउद्देश्यीय सहकारीबाट १० करोड ८० लाख १८ हजार रुपैयाँ ठगी गरी गोर्खा मिडियाका लगिएको उल्लेख छ।