चर्चित गायिका विष्णु माझीले ल्याइन् नयाँ गीत ‘फूल प्याउलीको’
चर्चित गायिका विष्णु माझी र बसन्त थापाको अर्काे सहकार्य ‘फूल प्याउलीको’ सार्वजनिक
काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित तथा लोकप्रिय गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ गीतमा चर्चित गीतकार नवराज पन्तका मनछुने शब्द छ भने संगीत स्वयं गायक बसन्त थापाले भरेका हुन् ।
‘डाडै फुर्के सल्लो’ , ‘सालको पातको टपरी’ जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका गायिका माझि, गायक थापा र गीतकार पन्तको केही समयको अन्तरालपछिको सहकार्यमा आएको यो गीत डान्सिङ शैलीमा समेत रहेको छ ।
मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा गायक एवंम् संगीतकार बसन्त थापाले साथ दिएका छन् । गीतलाई ‘एसएस सिरिज’ युट्युबमा सार्वजनिक गरिएको हो ।
नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ । गीतमा विदेश र शहरदेखि दिक्क भएर आफ्नो गाउँ ठाउँ ठिकै हो, गाउँका फुल परिवेश राम्रा छन् भन्ने परिवेशको बर्णन गरिएको गीतमा विष्णु माझीको जादुमय स्वर र बसन्त थापाको ठेट गायकीको संगमले गीतलाई थप कर्णप्रिय बनाएको छ ।
गीतको भिडियो पनि बनेको छ । भिडियोमा चर्चित डान्सर तथा मोडल प्रदीप लामा र मोडल जुना विश्वकर्माको अभिनय तथा नृत्य हेर्न सकिन्छ । भिडियोमा लाहुरे गाउँ फर्किएको परिवेश, मेलापात, घाँस–दाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे तथा नेपाली मौलिक जनजीवनलाई आकर्षक ढङ्गले समेटिएको छ । साथै, हिमशृङ्खला तथा रमणीय पहाडी भूगोलको पृष्ठभूमिमा खिचिएको दृश्यले दर्शकको आँखा लोभ्याउँछ ।
भिडिओको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । गीतका निर्माता अर्जुन बोहरा हुन् । गीतले दर्शक श्रोताको मन जित्ने आफु ढुक्क रहेको गायक गायक थापाले बताए ।

