लण्डन । बेलायत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लिभरपुल विश्वविद्यालयको अवलोकन गरेका छन्।
प्रवासी नेपाली मञ्च, बेलायतको अधिवेशनमा सहभागी हुन आएका पोखरेलले मङ्गलबार विश्वविद्यालयको भौतिकशास्त्र विभागमा पुगेर पदार्थको सुस्मकण (एटम) सम्बन्धी अध्ययन र जानकारी लिएका हुन्।
उक्त अवसरमा विश्वविद्यालयका प्राध्यापक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पोखरेललाई भौतिकशास्त्र क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका अनुसन्धान र नवीन प्रयोगहरूको बारेमा जानकारी गराएका थिए।
महासचिव पोखरेलले विश्वविद्यालयको प्रयोगशाला, पुस्तकालय, अनुसन्धान कक्ष लगायतका संरचनाहरूको पनि अवलोकन गरेका थिए। उनलाई लिभरपुलस्थित नेपाली समुदायका अध्यक्ष नेत्र खरेलले स्वागत गरेका थिए।
पोखरेलसँगै अन्तर्राष्ट्रिय प्रवासी नेपाली मञ्चका अध्यक्ष सजय थापा, एमाले नेता भक्त गुरुङ, प्रभु थापा, डा. मनोहर बुढाथोकी, विनोद शर्मा, एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, एमाले केन्द्रीय सदस्य धनश्याम पाण्डे र प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेलले समेत विश्वविद्यालयको अवलोकन गरेका थिए।