२५ असार २०८२, बुधबार
Follow Us

एनआरएनए यूकेको सदस्यता ४ हजार नजिक, आज राति सदस्यता बन्द हुँदै

नेपालब्रिटेन संवाददाता
११ असार २०८२, बुधबार २०:२२


१२ सय सदस्य स्कटल्याण्डबाट मात्रै

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्यता अभियान अन्तिम समयमा तीव्र गतिमा अघि बढेको छ।

संघका अध्यक्ष हितकाजी गुरुङले सदस्यता वितरणमा उत्साहजनक वृद्धि भएको बताएका छन्। संघका उपाध्यक्ष तथा सदस्यता वितरण समिति संयोजक मनिष खत्रीका अनुसार बुधबार राति ९ बजेसम्म करिब ४ हजार जनाले सदस्यता लिन इच्छा देखाएका छन्।

हालसम्म १,९१० जनाको सदस्यता प्रमाणिकरण भइसकेको छ भने १,०४४ जना प्रमाणिकरण प्रक्रियामा छन्। त्यस्तै, २३४ जनाको आवेदन पेनडिङमा र ६८६ जनाको आवेदन ड्राफ्ट अवस्थामा रहेको खत्रीले जानकारी दिए।

खत्रीका अनुसार आगामी जुलाई अन्त्यमा हुने निर्वाचनमा भाग लिन इच्छुक सबैले आज राति १२ बजेभित्र अनिवार्य रूपमा सदस्यता लिनुपर्नेछ। प्राप्त सदस्यता आवेदनमध्ये १,२०० भन्दा बढी स्कटल्याण्ड राज्य परिषदबाट मात्रै आएका छन्।

खत्रीले भने, “सदस्यता लिनु केवल प्राविधिक प्रक्रिया होइन, यो नेतृत्वप्रति सरोकार र संस्थागत प्रक्रियामा सहभागी हुने अधिकार तथा जिम्मेवारी पनि हो। यस निर्णायक घडीमा सबै नेपालीहरूलाई सहभागिताको लागि हार्दिक अपिल गर्दछु।”

उनका अनुसार यस अभियानको सफलतामा समर्पित स्वयंसेवक, क्षेत्रीय समन्वयकर्ता तथा कार्यकर्ताहरूको निरन्तर प्रयास रहेको छ। “संघलाई समावेशी, उत्तरदायी र सशक्त बनाउन तपाईंहरूको योगदान प्रशंसनीय छ,” उनले थपे।

धेरै पढिएको