२४ असार २०८२, मंगलवार
Follow Us

टेक्सासमा बाढी: १५ बालबालिका सहित ४६ को मृत्यु, नेपाली सुरक्षित

नेपालब्रिटेन संवाददाता
२२ असार २०८२, आईतवार ००:५९

नारायण भण्डारी । जुलाई । भीषण वर्षापछि टेक्सास राज्यको मध्य भागमा आएको बाढीमा परेर १५ जना बालबालिका सहित ४६ जनाको ज्यान गएको छ भने कैयौँ मानिसहरू अझै हराइरहेका छन्। हराइरहेका व्यक्तिहरूको खोजी कार्यलाई तीव्र पारिएको छ।

स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको अनुसार, शुक्रबार बिहानैदेखि परेको मूसलधारे वर्षाले ग्वाडालुपे नदीको पानीको सतह २६ फिटले बढेको थियो। समर क्याम्प, पार्क र मोबाइल क्याम्पहरूमा सुतिरहेका बालबालिका बाढीको चपेटामा परेका थिए।

अहिले अमेरिकामा विद्यालयहरूको ग्रीष्मकालीन बिदा चलिरहेको छ। यस अवसरमा धेरै बालबालिका बन क्षेत्रका समर क्याम्पहरूमा बस्न जाने गरेका हुन्छन्।

शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा टेक्सास राज्यका गभर्नर ग्रेग एबटले उद्धार कार्यलाई तीव्र पार्न बाढीसम्बन्धी आपतकालीन घोषणाको दायरा विस्तार गरिएको जानकारी दिए। अधिकारीहरूले जीवित व्यक्तिहरूको उद्धार अभियान जारी रहेको बताएका छन्।

प्रभावित स्थानहरूमध्ये क्रिस्चियन समर क्याम्पमा गएका बालबालिका खोज्नलाई प्राथमिकता दिइएको छ। टेक्सासको हंट शहरमा क्याम्पमा गएका २७ जना बालबालिका अझै हराइरहेका छन्।

यस आपद्कालीन घडीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकारले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै उद्धार र राहतकार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सो समाचार तयार गर्दा सम्म कोही पनि गैरआवासीय नेपालीहरु प्रभावित भएका छैनन् ।

धेरै पढिएको