आचार्य श्री स्वामी ध्रुव।
गुरुब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः,
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः।।
ब्रह्मा, विष्णु र महेश्वरलाई गुरु मानिन्छ। यी त्रिदेवलाई संसारको पहिलो गुरु मानिन्छ किनभने त्रिदेवबाट मानवजातिले धेरै ज्ञान प्राप्त गरेको छ।
गुरुले नै मानिसलाई तत्त्वको ज्ञान दिन्छन्। अधंकारबाट प्रकाशसम्म पुर्याउने काम गुरुबाटै हुँदै आएको छ। यसैले गुरु विना ज्ञानको कल्पना गर्न सकिँदैन।
सनातन कालदेखि नै गुरुको सम्बन्धमा अनेक चर्चा हुँदै आइरहेको छ। संसारको कुनै पनि ज्ञान वा शिक्षा गुरु विना पूर्ण हुन सक्दैन। बच्चाको पहिलो गुरु आमा हुन्छिन् भने दोस्रो गुरु बुबा। देवताहरूका पनि गुरु थिए– बृहस्पति।
कुनै वाहन चलाउने कुरा होस् वा खाना पकाउने। सबैका लागि गुरु आवश्यक हुन्छ। गुरु दुई प्रकारका हुन्छन्। पहिलोले संसारको ज्ञान दिन्छन् जुन मानव जीवन जिउन अति आवश्यक हुन्छ। दोस्रो गुरुले अध्यात्मको ज्ञान दिन्छन् जुन शान्ति, शक्ति, दिव्यज्ञान र मुक्तिको लागि जरुरी हुन्छ। पहिलो गुरु भेट्न सहज छ तर दोस्रो प्रकारका गुरु भेट्न कठिन हुन्छ। सांसारिक गुरु जहाँ पनि भेटिन सक्छन् तर आध्यात्मिक गुरु जहाँतहाँ भेटिँदैनन्।
प्रकृतिको नियम हो– जन्म भएपछि मृत्यु पनि हुन्छ। फरक कति मात्र हो भने को कति दिनसम्म यस पृथ्वीमा रहन्छ त्यो हामीलाई थाहा हुँदैन। हामीलाई पृथ्वीमा जन्मिएका हेरेक प्राणी एक दिन रहँदैनन् भन्ने मात्र थाहा छ।
जीवन के हो? जीवन जन्म र मृत्युबिचको समय हो। जीवन जिउने एउटा कला हो। काइदा पुर्याएर विवेकको उपयोग गर्दै जीवन जिउन सकियो भने जीवनमा आनन्द नै आनन्द छ। अहंकार र अज्ञानतापूर्ण तरिकाले जीवन जिउन खोजियो भने जीवन दुःख, संघर्ष र पीडाबाहेक केही होइन भन्ने पर्न सक्छ।
राजा जनकले एउटा सपना देखेछन्। सपनामा राजा जनक आफ्ना प्रहरीहरूका साथ जंगल घुम्न गएका रहेछन्। घुम्दा–घुम्दै साथमा गएका प्रहरी जति सबै पछाडि छुटेछन्। यसो पछाडि फर्किएर हेर्दा त उनी एक्लै हुन पुगेछन्। फर्किने बेलामा बाटो पनि भुलिएको रहेछ। बाटो खोज्दा–खोज्दै खप्नै नसक्ने गरी भोक लागेछ। राजा जनकले पहिले खानाकै व्यवस्था गर्नुपर्यो अनि मात्र बाटो खोज्नुपर्यो भन्ने सोचेछन्।
खाना खोज्दै जंगलैजंगल अघि बढिरहेका बेला साधुको झोपडी भेटिएछ। उनले त्यहाँका खाना माग्दा साधुले भनेछन्, खाना त मसँग छैन तर खाना पकाउने सबै सामान छ त्यो म दिन्छु तपाइँ आफैं पकाउनुस् र खानुस्। राजा जनकले भनेछन्, ठीक छ, सामानहरू दिनुस्। सामान पाएपछि खाना पकाउन थालेछन्। दउरा भिजेको हुँदा आगो जोर्न निकै कठिन भएछ। चिसा दाउराबाट आएको धुँवाले राजा जनकका आँखाबाट आँसु बग्न थालेछन्। येनकेन उनले खाना पकाएछन्। त्यही बेला दुई वटा साँढे जुघ्दै आएर पाकेको खाना लडाएर पोखिदिएछन्।
यसरी एकपछि अर्को गर्दै अनेक अवरोध आएको देखेर सपनामै राजा जनक रुन थालेछन्। जोडले रुँदा आफ्नै आवाजले उनी ब्युँझिएछन्। उठेर ओछ्यानमै बसेछन् र सपनाका कुरा सम्झन थालेछन्। यसो विचार गर्दा दुवै आँखाबाट आँसु बगिरहेका थिए। मैले त सपना उतिखेर देखेको अहिलेसम्म आँसु किन आइरहेको छ? भन्ने लागेछ। यो प्रश्नले उनलाई ठुङिरहेपछि भोलि बिहान ज्ञानीहरूको सभा बोलाउनुपर्यो भन्ने लागेछ। सोही अनुसार सभा बोलाएर त्यहाँ आफूले देखेको सपना बताएछन् र एउटा प्रश्न पनि सोधेछन्– सपना सत्य हो कि म राजा हँु त्यो चाहिँ सत्य हो?
स्वाभाविक छ, राजाको प्रश्नले सबैलाई सोच्न बाध्य बनाउने नै भयो। उनीहरूलाई प्रश्न सामान्य हो तर सोध्ने मान्छे धेरै ज्ञानी भएकाले उत्तर दिँदा धेरै सोच विचार गरेर दिनुपर्छ भन्ने भएछ। सभाका सहभागी मध्ये केहीले भनेछन्, राजा सत्य हो। केहीले भनेछन्, सपना सत्य हो। सबैले आफ्नै पाराले उत्तर दिएछन्। कुनै उत्तरले चित्त नबुझेपछि राजा चिन्तित भएछन्। राजालाई चिन्तित देखेर गुरुहरू पनि चिन्तामा परेछन्। त्यसैमध्ये एउटा ज्ञानीले भनेछन्, मेरो विचारमा दुइटै कुरा असत्य हुन्। किनभने जुन कुरा परिवर्तनशील हो, त्यो असत्य हो। आज सपना पनि छैन भोलि हामी पनि हुँदैनौं। यो उत्तर सुनेपछि भने राजा संतुष्ट भएछन्। गुरुको काम हो अज्ञानको अधंकारबाट बाहिर निकाल्ने।
अब्राहम मैस्लोको शोधपत्र ‘ए थ्योरी आफ हयुमन मोटिभेसन’ मा लेखिएको प्रसंग यहाँ प्रासंगिक हुने ठानिएकाले उद्धृत गरेको छुः
एउटा स्वस्थ मानिसको निश्चित आवश्यकता हुन्छन्। जुन पाँच थरिका हुन्छन्ः
शारीरिक आवश्यकता– जीवन चलाउन गाँस, बास र कपासको आवश्यक हुन्छ। यसबाहेक हावा, पानी, निद्रा पनि त्यतिकै आवश्यक हुन्छ।
सुरक्षाको आवश्यकता– प्राकृतिक घटना, सामाजिक डर र आकस्मिक दुर्घटनाबाट हरेक मानिस जोगिन चाहन्छ। जन्मदेखि मरनसम्म सुरक्षाको आवश्यकता महसुस भइरहन्छ।
सामाजिक आवश्यकता– मानिस सामाजिक प्राणी हो। यस कारण हामीलाई माया, सम्मान, साथी र सहयोग पनि आवश्यक हुन्छ।
४. यश र प्रभावको आवश्यकता– मानिसले आफ्नो पहचान र प्रतिष्ठा पनि खोज्छ। यसमा अवरोध आयो भने पनि मान्छे हीन भावनाको शिकार हुन पुग्छ। मानिसले समाजिक प्रभाव र प्रतिष्ठा पाएन भने ब्रान्डेड सामानको उपयोग गरेर भए पनि आफ्नो पहिचान खोज्न उद्यत् हुन्छ।
आत्मज्ञानको आवश्यकता (सेल्फ रियलाइजेसन)– यो सबैभन्दा उच्च आवश्यकता हो। मानिसको असली स्वरूप के हो? हाम्रो क्षमता कति हो? के पाउँदा सन्तुष्ट हुन्छौं? किन पृथ्वीमै जन्मियौं? यस्ता अनेक प्रश्न हाम्रो मस्तिष्कमा बेला–बेला आइरहेका हुन्छन्। समग्रमा यो आत्मज्ञानको खोजी हो।
यी कुरा पश्चिमा जगतले गरेको खोजीको निष्कर्ष हुन्। यिनीहरूले मानवीय आवश्यकता र चाहनालाई यिनै पाँचवटा कुरामा सीमित गरदिएका छन्।
पूर्वीय सभ्यताका ज्ञानी, ऋषि र महात्माहरूले यसबाहेक एउटा अर्को आवश्यकताको पनि परिकल्पना गरेका छन्, त्यो हो मुक्ति र मोक्षको कामना। यो छैटौं आवश्यकता पूरा गर्न हामीलाई आध्यात्मिक गुरुकै आवश्यक हुन्छ।
प्राचीनकालदेखि नै भक्त र साधकहरू मुक्ति र मोक्षको लागि गुरुको खोजीमा लागिरहेका छन्। आजभन्दा तीन हजार वर्ष पहिला आषाढ शुक्लपक्षको पूर्णिमाका दिन महाज्ञानी महर्षि वेदव्यासको जन्म भएको थियो। उनैको जन्मदिनलाई सम्झेर गुरु पूर्णिमा पर्व मनाउने परम्परा सुरु भएको हो।
नेपाल, भारत, भुटान, म्यनमार र श्रीलंकालगायत पूरै विश्वमा आ–आफ्ना गुरुलाई सम्झँदै गुरु पूर्णिमा पर्व मनाउने गरिएको छ। यसबाहेक मानवीय मन र पूर्णिमाको दिनको धेरै गहिरो सम्बन्ध देखिन्छ। पूर्णिमाको दिन धेरै ज्ञानि पुरुषले आत्मज्ञान प्राप्त गरेका छन्। हामी पनि आफ्ना गुरुलाई सम्झँदै आत्मज्ञानी बन्ने प्रयास गरौं, गुरूपूर्णिमाको शुभकामना।