लन्डन, । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र पुडासैनीले छ महिनाभित्र संघभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार साँझ लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले काउन्सिल बैठक बोलाएर संस्थामा देखिएका विवाद अन्त्य गर्दै समावेशी एकता स्थापना गर्ने योजना प्रस्तुत गरेका हुन्।
कार्यक्रममा पुडासैनीले आफ्नो १० बुँदे एजेन्डा सार्वजनिक गर्दै एनआरएनएलाई सबै नेपालीले महसुस गर्न सक्ने, खोज्दा भेटिने र देखिने संस्थाका रूपमा विकास गर्नु आफ्नो मुख्य उद्देश्य भएको बताए। उनले बेलायतमा साझा घर स्थापनाको पहल, संस्थागत एकता, आपतकालमा समुदायलाई सहारा, युवा तथा दोस्रो पुस्तालाई एनआरएन अभियानप्रति आकर्षण, लगानी र सीपको हस्तान्तरणमार्फत समृद्ध नेपाल निर्माणमा योगदान, भूतपूर्व गोर्खा र वरिष्ठ नागरिकको सम्मान, नेपाली कला, संस्कृति र पहिचानको संरक्षण, वंशजलाई नेपाली नागरिकताको निरन्तरता, संघसंस्थासँग सहकार्य, तथा विज्ञहरुको सञ्जाल निर्माणजस्ता विषयलाई आफ्नो प्राथमिकता बताउँदै दोस्रो पुस्तासम्म विवाद पुग्न नदिनेतर्फ गम्भीर रहने स्पष्ट पारे।
पुडासैनीले आफू एनआरएन अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका अग्रजहरुको सल्लाह र सुझावका आधारमा उम्मेदवारी दिएको बताए।
पत्रकार सम्मेलनमा महासचिव पदका उम्मेदवार दिवाकर पाण्डेले पुडासैनीजस्तो सक्षम नेतृत्वको साथ काम गर्न पाउँदा आफू उत्साहित भएको बताउँदै आफू एक दशकदेखि एनआरएन अभियानमा जोडिएको र १२ भन्दा बढी संस्थामा सचिवको भूमिका निभाइसकेको अनुभव सुनाए। उनले सदस्यहरुको अपेक्षा अनुरूप काम गर्ने दृढता व्यक्त गरे।
कार्यक्रममा आइसीसी सदस्य पदका उम्मेदवार तुंगभद्र भुषाल, देउमान इजम, उपाध्यक्ष पदका उम्मेदवार शम्भुप्रसाद अर्याल, सचिव पदका उम्मेदवार धातानन्द (डिएन) खराल, र इंग्ल्याण्ड राज्य समन्वय परिषद अध्यक्ष पदकी उम्मेदवार राममाया विष्टले आ–आफ्ना प्रतिबद्धता राख्दै मतदातासँग समर्थनको अपिल गरे।
एनआरएनए संस्थापक सचिव चिरञ्जिवी ढकालले दोस्रो पुस्तालाई आकर्षित गर्ने पुडासैनीको एजेन्डालाई समयसापेक्ष र दूरदर्शी योजना बताउँदै समर्थन जनाए। प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष पशुपति पोखरेलले पुडासैनी कुशल संगठक र सिद्धहस्त नेता भएको भन्दै प्रशंसा गरे।
उक्त अवसरमा एनआरएनए अभियन्ता रोहित अग्रवाल, समाजसेवी एकेन्द्र गुरुङ, डा. मुकुन्द बास्तोला, एनआरएनए यूके सचिव तिलक भट्टराई, प्रमेश शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए।
चुनावी प्रचार अभियानका संयोजक दिनेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए केन्द्रीय सहकोषाध्यक्ष कृष्ण तिमल्सेना, यूके उपाध्यक्ष कृष्ण भण्डारी, आइसीसी सदस्य सरस्वती केसी, तमुधिं यूकेका पूर्व अध्यक्ष रामचन्द्र (सूर्जे) गुरुङ, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, एनआरएनए यूके सचिव प्रतिभा न्यौपाने लगायतको उपस्थिति रहेको थियो।