९ श्रावण २०८२, शुक्रबार
Follow Us

एनआरएनए यूकेमा त्रिपक्षीय भिडन्त, स्कटल्याण्डको भोट निर्णायक

नेपालब्रिटेन संवाददाता
८ श्रावण २०८२, बिहीबार १९:५२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी शनिबार (जुलाई २७) हुने निर्वाचनमा अध्यक्ष पदका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

भर्चुअल (अनलाइन) प्रणालीमार्फत हुने मतदानका लागि राजेन्द्र पुडासैनी, गोविन्द खरेल र मनिष खत्रीले आ–आफ्नो उम्मेदवारी कायम राख्दै त्रिपक्षीय भिडन्तमा उत्रिएका हुन्।

पुडासैनी प्रवासी नेपाली संघ यूकेको पूर्वअध्यक्ष तथा अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) का पूर्व सदस्य हुन्। उनले संस्थागत सुधार, समावेशी नेतृत्व र सदस्य सशक्तिकरणलगायतका बुँदासहित १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन्।

यस्तै, गुल्मी निवासी र हाल नटिङ्घाम, इङ्ल्याण्डमा व्यवसाय सञ्चालन गरिरहेका गोविन्द खरेल पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्। उनी हाल एनआरएनए यूकेको पूर्व उपाध्यक्ष तथा महासचिवको भूमिकामा कार्यरत छन्। खरेलले वंशजको नेपाली नागरिकताको निरन्तरताका साथै एनआरएनए यूकेमा एकता, सामाजिक सौहार्द, र राज्य समन्वय परिषद तथा एनसीसीबीच सम्बन्ध सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।

तेस्रो उम्मेदवार मनिष खत्रीले समेत आन्तरिक संगठन सुदृढीकरण, युवा सहभागिता र पारदर्शितामा जोड दिँदै उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका अनुसार निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। मतदाता अनलाइन प्रणालीमार्फत मतदान गर्न सक्नेछन्, र समितिले सबैलाई निर्धारित समयमा सहभागिता जनाउन अनुरोध गरेको छ।

यसपटकको निर्वाचनमा कुल ३,५०१ मतदाता रहेका छन्, जसमा स्कटल्याण्डबाट १,५१३, इङ्ल्याण्डबाट १,८६०, वेल्सबाट ७४ र नर्दन आयरल्यान्डबाट ५४ जना छन्।

यद्यपि मतदाता संख्याको हिसाबले इङ्ल्याण्ड अगाडि भए पनि स्कटल्याण्डको भोट निर्णायक हुने विश्लेषण गरिएको छ।

धेरै पढिएको