१८ बैशाख २०८१, मंगलवार
Follow Us

सवारीसाधनसँगै हराइरहेका प्रहरीको खोजी जारी

नेपालब्रिटेन डट कम्
९ असार २०७४, शुक्रबार ०९:०७

चितवन । नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत तीनकिलो नजिकै पहिरोले गएराति प्रहरीको भ्यान र एउटा ट्रक वगाउदा २ जनाको मृत्यु भएको छ भने दुईजना हराईरहेका छन् । चारकिलोमा पहिरो गएपछि पहिरो हटाउन गएको इलाका प्रहरी कार्यालय मुग्लिनको वा एक झ एक तीन नौ शुन्य नम्वरको स्कारपियो भ्यान र मग्लिनवाट नारायणगढतर्फ आइरहेको ना पाँच ख ७८२८ नम्वरको ट्रक वगाएको थियो ।
सो क्रममा भ्यानमा सवार नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र चालक दिपक कुमार मास्केको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्यसैगरी सोही भ्यानमै सवार सिपाही संदिप कार्की र लिलवहादुर चेपाङ हराइरहेका छन् । पहिरोले भ्यानलाई त्रिशुलीमै पुर्‍याएको हुनसक्ने आशंकमा खोजी कार्य तीव्र छ । प्रहरीसंगै रहेका दुई थान एसएलआर, १ सय थान गोली र प्रहरीको दुईवटा संचार सेट पनि फेला परेका छैनन् । दुर्घटनापछि सडक पनि अवरुद्ध भएको छ ।
दिनमै पटक पटक सडक अवरुद्ध हुदा हजारौं सवारी साधन र यात्रुहरुले सास्ती खेप्दै आएका छन् । दुर्घटनापछिको खोजीमा चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै दुर्घटनास्थल पुगेका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठुलो टोली समेत उद्धार र सडक खुलाउने कार्यमा लागेको प्रहरीले जनाएको छ ।
सडक विभागको एक्जाभेटर प्रयोग गरी पहिरो पन्छाउने क्रम चलिरहेको छ । ट्रकमा सवार दुईजनाको भने उद्धार गरी उपचार भइरहेको छ । वर्षा लागेसंगै नरायणगढ मुग्लिन सडक खण्डमा दिनहुँजसो पहिरो खस्नेक्रम तीव्र छ ।
नारायणगढ सडकखण्ड विस्तारको क्रममा रहेको छ । विस्तारको क्रममा प्रयोग गरिएका मेशिनहरु वैज्ञानिक र समयसापेक्ष नभएका कारण एकातिर काम निकै सुस्त गतिमा छ भने अर्कोतर्फ सडकमा जोखिम बढदै गएको छ ।