डायस्पोरा

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आर्थिक पारदर्शितामाथि प्रश्न !

लण्डन । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आर्थिक पारदर्शितामाथि राष्ट्रिय कमिटीहरूले प्रश्न उठाउँदै खर्च विवरण नियमित रूपमा उपलब्ध गराउन माग गरेका छन्।

प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको आगामी ४–५ नोभेम्बर २०२६ मा काठमाडौंमा हुन गइरहेको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनको सन्दर्भमा मंगलबार आयोजित विशेष अनलाइन अन्तरसंवादमा बोल्दै प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष पशुपति पोखरेलले अन्तर्राष्ट्रिय कमिटीले गरेको खर्चको विवरण राष्ट्रिय कमिटीहरूलाई प्रत्येक तीन महिनामा उपलब्ध गराउनुपर्ने माग गरे।

“मञ्चको आर्थिक विवरण साधारणसभामा सरर्र पढेर हुँदैन, हामीलाई तीन–तीन महिनामा हिसाब चाहिन्छ,” पोखरेलले भने।

कार्यक्रममा उनले गैरआवासीय नेपाली नागरिकताको विषयमा पार्टीको धारणा एकमत हुनुपर्नेमा जोड दिए। अधिवेशन नजिकिँदा मात्रै सक्रिय हुने, फोटो खिच्ने, पोस्टर बनाउने र सामाजिक सञ्जालमा बधाई सन्देश लेख्ने तर अन्य समयमा पार्टीको काममा सक्रिय नहुने प्रवृत्तिप्रति उनले असन्तुष्टि व्यक्त गरे।

पार्टी कार्यकर्ताको निष्क्रियताले संगठनभित्र आन्तरिक समस्या सिर्जना गरेको उल्लेख गर्दै पोखरेलले संगठनलाई प्रभावकारी बनाउन निरन्तर सक्रियता आवश्यक रहेको बताए।

उनले मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूले भोगिरहेका समस्याप्रति पनि ध्यानाकर्षण गराए। विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई नेपालको हितमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए।

नेतृत्व विकासको विषयमा बोल्दै पोखरेलले साधारण सदस्यदेखि नै क्रमिक रूपमा संगठनमा योगदान गर्दै अघि बढ्नुपर्ने बताए। एकै व्यक्तिले संगठनमा लामो समय काम नगरी साधारण सदस्यबाट सीधै केन्द्रीय समितिको पद खोज्ने प्रवृत्तिले प्रभावकारी नेतृत्व विकास हुन नसक्ने उनको भनाइ थियो।

कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम