पीटरबरोमा पीएनएसको दशैं–तिहार उत्सव भव्य रूपमा सम्पन्न, चार जना सम्मानित
देवी गौतम । पीटरबरो। पीटरबरो नेपाली समाज (पीएनएस) को आयोजनामा दशैं तथा तिहार उत्सव २०२६ भव्य रूपमा सम्पन्न भएको छ। पीटरबरोस्थित वर्ल्ड बुफे २०२० मा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति, परम्परा र सामुदायिक एकताको सुन्दर झल्को देखिएको थियो।
बेलायतमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, कलाकार तथा नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन पीएनएसका सचिव देवी गौतमले गर्नुभएको थियो। उहाँले अतिथि, कलाकार तथा सहभागीहरूलाई जोड्दै कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पीटरबरो सिटी काउन्सिलकी नेता काउन्सिलर डा. शबिना कय्यूम उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा पीटरबरोका पूर्वमेयर काउन्सिलर गुल नवाज, भारत हिन्दू समाजका अध्यक्ष किशोर लड्वा, काउन्सिलर अमजद इकबाल, काउन्सिलर राजा साबिल, साझा नेपाली समाजका अध्यक्ष नारायण फुयाल, सोही संस्थाका ट्रस्टी दयानिधि सापकोटा, जीएनसीपीका पूर्वअध्यक्षहरू दलबहादुर बुढाथोकी र मणिराज जोल्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, पीएनएसका पूर्वअध्यक्ष, ट्रस्टी, कार्यसमिति सदस्य तथा समाजका सदस्यहरूको पनि उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
समुदायमा पुर्याएको योगदानको कदर गर्दै पीटरबरो नेपाली समाजले चार जनालाई ‘पीएनएस पर्सन अफ द इयर अवार्ड २०२६’ प्रदान गरेको छ।
अवार्डबाट सम्मानित हुनेहरूमा केशव खतिवडा, लव शर्मा, रमा श्रेष्ठ र केशव पौडेल रहनुभएको छ। उहाँहरूलाई कार्यक्रमका प्रमुख अतिथि काउन्सिलर डा. शबिना कय्यूम र पीएनएसका अध्यक्ष विष्णुबहादुर थापाले संयुक्त रूपमा सम्मान प्रदान गर्नुभएको थियो।
समुदायमा योगदान पुर्याउने व्यक्तित्वहरूको सम्मानमार्फत सामाजिक सेवाभाव, आपसी सहयोग र सामुदायिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको हो।
दशैं–तिहार उत्सवलाई थप आकर्षक बनाउन कार्यक्रममा विशेष अतिथि गायिका अस्मिता दल्लाकोटी, प्रतिभाशाली युवा नेपाली नृत्य कलाकार तथा स्थानीय नेपाली गायकहरूले सांगीतिक र सांस्कृतिक प्रस्तुति दिएका थिए।
कलाकारहरूको प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याएको थियो। गीत–संगीत र नृत्यमार्फत नेपाली मौलिकता, परम्परा र चाडपर्वको उल्लासलाई जीवन्त बनाइएको थियो।
कार्यक्रमस्थल वर्ल्ड बुफे २०२० मा खानपान, मञ्च व्यवस्थापन, सजावट, प्रकाश तथा संगीतको समेत उचित व्यवस्था गरिएको थियो। कार्यक्रम सफल बनाउन सहयोग पुर्याएको भन्दै आयोजकले वर्ल्ड बुफे २०२० प्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन उपस्थित भई साथ, सहयोग र सद्भाव प्रदान गर्ने प्रमुख अतिथि, विशिष्ट अतिथि, कलाकार, स्वयंसेवक, समाजका सदस्य तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति पीएनएसका अध्यक्ष विष्णुबहादुर थापाले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
अध्यक्ष थापाले सबैको सामूहिक प्रयास, सहयोग र सहभागिताले कार्यक्रम सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि नेपाली संस्कृति संरक्षण, सामुदायिक एकता र सामाजिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
पीटरबरो नेपाली समाजद्वारा आयोजित दशैं तथा तिहार उत्सवले बेलायतमा नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्नुका साथै विभिन्न समुदायबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। यस्ता कार्यक्रमले प्रवासमा हुर्किरहेका नयाँ पुस्तालाई समेत आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







