स्थानीय समाचार

जिल्लाकै सफल व्यवसायी र अगुवाहरूको निधनले शोकमा वालिङ

वालिङ । सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जा जिल्लाकै सफल निर्माण व्यावसायी, होटल व्यावसायी तथा सामाजिक अगुवाहरुको सवारी दुर्घटनामा निधन भएसँगै वालिङ शोकमा डुबेको हो ।

वालिङ– १० का निर्माण व्यवसायी दिलीपकुमार बगाले, उनकी धर्मपत्नी निता बगाले, वालिङ–१० का होटल व्यवसायी शिव पराजुली, वालिङ–१० का अर्का होटल व्यवसायी लोकनाथ पाण्डेको निधनले वालिङ शोकमा डुबेको हो ।

एउटै ठाउँका व्यवसायीहरुलाई अकस्मात् गुमाउनुपर्दा निक्कै पीडाबोध भएको वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेले बताइन् । दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये चार जना वालिङ–१० मा बसेर व्यवसाय गर्दै आएका व्यवसायीहरु गुमाउनुको पीडाले आफन्त तथा स्थानीयहरु चिन्तित छन् ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दभौखानीमा सोमबार गण्डकी बिएए ०२२० नम्बरको स्कार्पियो सडकबाट झण्डै २५० मिटर तल खस्दा पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि मिर्मीस्थित कालीगण्डकी आधारभूत अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । घाइते तीन जनाको अहिले पाल्पा र पोखराका अस्पतालमा उपचार भइरहेको छ ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम