डायस्पोरा

एनआरएनएका एनसीसी पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि रणनीतिक कार्यशाला सुरु

कात्तिक। गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूको रणनीतिक तथा संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने रणनीतिक कार्यशाला सुरु भएको छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (ILO), गैरआवासीय नेपाली संघ (NRNA) तथा स्विस सरकारको सहकार्यमा MiRiDeW परियोजनाको दोस्रो चरणअन्तर्गत आयोजित ‘स्ट्राटेजिक क्यापासिटी बिल्डिङ वर्कसप’ अक्टोबर २८ देखि ३०, २०२६ सम्म सञ्चालन हुनेछ।

कार्यशालामा एनआरएनएका अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष रोजिना प्रधान राई, कोषाध्यक्ष कृष्ण तिमल्सिना, युरोप क्षेत्रीय महिला उपसंयोजक किरण सिग्देल र राधा, सचिव दीपेश खत्री, एनसीसी यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीसहित विभिन्न राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा संघको सचिवालयका केहि कर्मचारीहरूको सहभागिता रहेको छ।

कार्यशालाको मुख्य उद्देश्य सहभागीहरूको नेतृत्व क्षमता, रणनीतिक योजना निर्माण, संस्थागत व्यवस्थापन तथा कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नु रहेको छ। कार्यशालामार्फत पदाधिकारीहरूलाई संस्थाको उद्देश्यअनुरूप प्रभावकारी योजना निर्माण, कार्यान्वयन तथा संस्थागत जिम्मेवारी निर्वाह गर्न आवश्यक ज्ञान र सीप प्रदान गरिनेछ।

कार्यशालाले राष्ट्रिय समन्वय परिषद्हरूको संस्थागत प्रभावकारिता बढाउन, पदाधिकारी तथा सचिवालयबीचको समन्वय सुदृढ गर्न र संघका उद्देश्य तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम