२६ श्रावण २०८२, सोमबार
Follow Us

तराइमा जापानीज इन्सेफ्लाइटिसको संक्रमणबाट ३ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ श्रावण २०८२, सोमबार १३:५०

काठमाडौं । पछिल्लो समय तराई क्षेत्रका जिल्लाहरुमा जापानीज इन्सेफ्लाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको परिवार कल्याण महाशाखाले जानकारी दिएको छ । गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए ।

यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू मधेस, कोशी र लुम्बिनी रहेका छन । बर्दिया, कावासोती, रत्ननगर, ठोरी, हरिवन, लाहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये २० महिला र १३ पुरुष छन् । मृतकमध्ये मोरङका १७ वर्षीय, खानीपोखरीका ४९ वर्षीय र नवलपरासीका ७४ वर्षीय पुरुष छन् ।

खोप शाखाका डा. अभियान गौतमका अनुसार यसपटक संक्रमण विशेषगरी खोप नलगाएका समुदायमा बढी देखिएको छ । केही समय अघि पूर्वका जिल्लामा देखिए पनि पछिल्लो चरणमा मधेस र कोशी प्रदेशसँगै लुम्बिनी प्रदेशमा फैलिएको छ । विभागका तथ्यांक अनुसार जेईको परीक्षण ६८६ जनाको गरिएको मध्ये ३३ जनालाई संक्रमण पुष्टि भएको हो ।

जसमध्ये मधेशमा १० , कोशीमा ९, लुम्बिनीमा ९, बागमतीमा ४, गण्डकीका १ जना संक्रमित भएका छन् । ‘तराई बेल्ट यसको लागि एकदम अनुकूल क्षेत्र हो , धान खेती हुने, वरिपरि सुँगुर वा हाँस पालन हुने ठाउँमा यसको जोखिम उच्च हुन्छ,’ डा. गौतमले भने । संक्रमणको जोखिम देखिएपछि स्वास्थ्य निकायले तीन महिना अघि नै अस्पतालहरूलाई ‘क्लिनिकल प्रोटोकल’ र उपचार निर्देशिका उपलब्ध गराएको उनले जानकारी दिए ।

सन् २०२३ मा नेपालमा १०७ वटा संक्रमण पुष्टि हुँदा ७ जनाको मृत्यु भएको थियो । त्यसैगरी, २०२२ मा ६६, २०२१ मा २८, २०२० मा २२ जनामा संक्रमण पुष्टि भएको थियो ।

सन् १९७८ मा पहिलो पटक नेपालमा पुष्टि भएको जेई मुख्यतया तराई र भित्री मधेशमा बढी देखिन्छ । २०७३ साल साउनदेखि नियमित खोप कार्यक्रममा समावेश गरिएको यो रोगविरुद्ध १२ महिनामाथिका बालबालिकालाई खोप दिइँदै आएको छ ।

धेरै पढिएको