काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको बताएका छन । आज (सोमबार) मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रमलाई एमालेको मुख्यालय च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले कतिपय नेताका नामका प्रतिष्ठानहरू सामूहिक हुनुपर्ने भन्दै कतिपय प्रतिष्ठान पछि व्यक्तिको कब्जामा जाने गरेको समेत बताए । ओलीले भने, ‘पार्टीले नै पुष्पलाल र मनमोहन लगायत अन्य प्रतिष्ठान स्थापना गर्यो । पहिला पहिला प्रधानमन्त्री भएपछि भ्याउँदैन भनेर चेन्ज गर्ने छँदै थियो ।
पछि केही व्यक्तिहरूले छाड्दै नछाडेर त्यसलाई माध्यम बनाएर त्यहाँ काम गर्नेहरूलाई ग्रिपमा लिएर कब्जा गर्ने, ‘परिवर्तनको पक्षमा लाग्ने होइन कि व्यक्तिको ठगी खाने भाँडो भन्ने कि ।’ उनले पार्टीका संस्था सामूहिक हुनुपर्ने पनि बताएका छन । ‘मदन भण्डारी फाउन्डेसन पार्टीले बनाएको होइन त्यो आफै बनाएको हो । अर्को ढङ्गले’, ओलीले भने, ‘मदन आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो । पर्सी जन्मदिन छ भने विभिन्न विकृतिपूर्ण लेखहरू लिडरसिपबाट लेख्ने र प्रकाशित हुने भए ।
त्यसपछि मदन आश्रित स्मृति प्रतिष्ठान जन्मिएको हो ।’ उनले आगामी दिनमा मदन भण्डारी फाउन्डेसन कसरी जान्छ भन्ने हेर्नुपर्ने भन्दै चक्रपथ भन्ने अनलाइनको प्रस्तुति हेर्दा अन्योल रहेको बताएका छन । मदन भण्डारी फाउन्डेसनको संरक्षक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी छन् भने अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी छन् ।
‘कम्युनिस्ट पाठशाला कि के भनेर बनाएको छ एउटा । त्यो व्यक्तिको हो कि परिवारको हो कि ? आन्दोलनको नाममा काम गर्छ कि ठगी खाने भाँडो’, उनले भने, ‘आन्दोलनको विपरीत हुने गरी प्रयोग गर्नु उचित होइन ।’