काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भारत भ्रमणमा समकक्षी नरेन्द्र मोदीसँग बोधगयामा द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । भारतका प्रधानमन्त्रीले विदेशी अतिथिसँग नयाँदिल्लीको हैदराबाद हाउसमा भेटवार्ता गर्ने परम्परा रहँदै आएकोमा यस पटक गौतम बुद्धले ज्ञान प्राप्त गरेको स्थल रोजिएको हो ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी भने सार्वजनिक गरिसकेको छैन । प्रधानमन्त्री बनेको १४ महिनापछि उनले भदौ ३१ मा भारतको दुई दिने भ्रमण गर्दैछन् । त्यस क्रममा दुई मुलुकका कार्यकारी प्रमुखबीच बोधगयामा भेटवार्ता हुने भएको हो ।
ओलीको भ्रमण कार्यतालिकाबारे छलफल गर्न भारतीय विदेश सचिव बिक्रम मिस्री आईतबार नेपाल आउँदैछन् । उनले भारतका प्रधानमन्त्री मोदीका तर्फबाट ओलीलाई भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्ने बताइएको छ ।
भारतीय सैन्य विमानबाट आइतबार अपराह्न काठमाडौं ओर्लिएर मिस्रीले प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, परराष्ट्र सचिव अमृत राईसहितका उच्चपदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम छ । भेटघाट सकेर सोमबार उनी फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।