७ भाद्र २०८२, शनिबार
Follow Us

बेलायतमा जन्मिएका १५ वर्षीय किशोरले लेखे नेपालका बालबालिका लक्षित चित्रकथा

नेपालब्रिटेन संवाददाता
७ भाद्र २०८२, शनिबार १८:२८

लन्डन । बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेखेका छन् । अंग्रेजी भाषामा उनले लेखेको “ह्यारी एण्ड द रेड बलुन” चित्रकथालाई नेपालीमा “अरुजको बेलुन यात्रा” शीर्षकमा अनुवाद गरिएको छ । हालै मात्र परिवारसहित नेपाल गएर उनले चित्रकथा सार्वजनिक गरेका हुन् । बालसाहित्यिक कृतिहरु प्रकाशित गर्दै आएको प्रकाशनगृह “कोपिला किताब”ले उक्त पुस्तक प्रकाशित गरेको हो । मनोरञ्जनमात्र नभई यस चित्रकथाले बालबालिकाको कल्पनाशीलतालाई उजागर गर्ने र नैतिक मूल्यमान्यताहरुलाई रमाइलोसँग सिकाउन सहयोग गर्ने रेग्मी बताउँछन् ।

विकसित देशहरुमा सुत्नुअघि बालबालिकाहरुलाई पढ्न प्रोत्साहित गरिन्छ । विद्यालय र सार्वजनिक पुस्तकालयहरुबाट बालबालिकाहरुले सजिलै पुस्तक पाउन सक्छन् । तर नेपालमा बालबालिकाहरुलक्षित पुस्तकको पहुँच सीमित भएको थाहा पाएपछि यस क्षेत्रमा योगदान गर्न रुचि जागेको उनी बताउँछन् । उनले भने, “सुत्नुअघि पढ्ने बानीले निद्रामा सुधार ल्याउँछ र शारीरिक र मानसिक स्वास्थ्यको लागि यो जरुरी हुन्छ ।”

पुस्तक प्रकाशन गर्न आवश्यक खर्च जुटाउन उनले गत वर्ष “गो फण्ड मी” बाट रकम जुटाएका थिए । हालै नेपाल जाँदा उनले चितवनका केही विद्यालयमा पुस्तक हस्तान्तरण गर्नुका साथै आफ्ना विचार पनि राखेका थिए । विद्यालयका शिक्षकवर्ग, साथीभाइ र परिवारजनबाट प्रशंसा पाउँदा उनी पुलकित छन् । नेपालका सार्वजनिक विद्यालयहरुमा पुस्तक नि:शुल्क वितरण गर्ने तर अन्यत्र बिक्री गरेर नेपालका ग्रामीण विद्यालयहरुलाई खेलकुद सामग्री उपलब्ध गराउन सहयोग गर्ने उनको उद्देश्य छ । लेखनबाहेक फुटबलमा उनको अभिरुचि छ र नियमित प्रशिक्षणमा जाने गरेका छन् । बेलायतमै जन्मी हुर्केपनि उनी प्रष्ट नेपाली बोल्दछन् ।

धेरै पढिएको