चार वर्षअघि संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको झल्को दिने घटना फेरि घटेको छ । एउटा गरिबको सन्तानले सडकमै आफूमाथि पेट्रोल छर्किएर आगो लगाएका छन् । राइड सेयरिङ गर्ने २५ वर्षीय गणेश नेपालीले हिजो राहदानी विभागअगाडि आत्मदाह गरेका हुन् ।
महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि उनले आफैंमाथि पेट्रोल खन्याएर आगो लगाए । उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुःखद् कुरा के भने,हिजो आचार्यले आत्मदाह गर्दा सरकारमाथि प्रश्न गर्नेहरु आज आफू उत्तर दिने ठाउँमा हुँदा मौन छन् । अहिलेसम्म केही बोलेका छैनन् ।
त्यतिबेला काठमाडौँ महानगरको मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाह थिए । प्रेमप्रसाद आचार्यको घटनापछि तत्कालीन मेयर शाहले आक्रोश पोखेका मात्रै थिएनन्, राज्यको चरम असफलता भनेका थिए । ‘सबैभन्दा ठुलो कारण राज्य हो र सबैभन्दा भयानक सङ्केत राज्यको चरम असफलताको हो’, प्रेमप्रसादको घटनापछि बालेनले फेसबुकमा लेखेका थिए ।
अहिले तिनै बालेन मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) पदमा आसीन छन् । उनै बालेन नेतृत्वको सरकार र सरकार मातहत रहेको नगर प्रहरीको कायैशैलीका कारण युवा गणेश नेपालीले आफैँमाथि आगो लगाउन पुगेका छन् । प्रेमप्रसादले आत्मदाह प्रयासलाई विद्रोह भन्ने बालेनले गणेशको सवालमा भने मुख खोलेका छैनन् ।
आचार्यले आत्मदाह गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालबाट माफी मागेका थिए ।
नयाँले समेत नागरिकमा उत्साह जगाउन नसकेको भन्दै उनले लेखेका थिए,‘हामीजस्ता नयाँहरुको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं,म दोषी छु । प्रेम आचार्यजी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईँमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला ।’
वर्तमान सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले ‘तिमी पो जल्यौं, जलेनौं ?’ शीर्षकमा कविता नै लेखेका थिए । अहिले उनीहरुकै सरकार हुँदा फेरि पनि त्यस्तै घटना दोहोरिएको छ । एउटा गरिबको छोराले आफैंमाथि आगो लगाउनुपरेको छ । तर, किन सरकार यसविषयमा मौन छ ? आखिर गणेश पनि यही देशको जनता होइन र ?