२९ भाद्र २०८२, आईतवार
Follow Us

प्रधानमन्त्री कार्कीले भनिन्– देश‍ जलाउनेलाई कसरी नेपाली भन्ने ?

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०८२, आईतवार १३:०५

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका अत्यन्त आवश्यक संस्थाहरूमा छानी छानी प्रहार भएको बताएकी छन् । देशको शासन चलाउने भवन र कागजात जलाएको देखेर आफूलाई लाज लागेको पनि उनले बताइन् ।

‘नेपाली भएर यो काम गरेको हो भने तिमीलाई नेपाली कसरी भन्ने,’ उनले भनिन्, ‘यो घटना यो देशमा पहिलोचोटि भएको हो । यस्तो संस्कार देखिएको छ । अनुहारै देखाउन नसक्ने घटना भएको छ ।’

उनले सिंहदरबार, अदालत, प्रहरी चौकीहरू नष्ट भएको भन्दै ठूलो क्षति भएको पनि बताइन् । ‘भौतिक भवनको क्षतिले केही हुँदैन । बनाउन पनि सकिन्छ । तर ती रेकर्डहरू, विवरणहरू सम्पूर्ण नष्ट भएर शून्यको अवस्थामा पुगेका छौं,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उनको भनाइ छ ।

उनले भनिन्, ‘म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।’

६ महिना भन्दा बढी नबस्ने अठोट गरेर आएको उनले बताइन् ।

‘हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस्,’ कार्कीले भनिन् ।

धेरै पढिएको