७ आश्विन २०८२, मंगलवार
Follow Us

नागढुंगा–मुग्लिन सडक आज खुल्ने सम्भावना कम

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८२, मंगलवार ०५:२९

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा खसेको सुक्खा पहिरो पन्छाउन आज दिनभर लाग्ने अनुमान गरिएको छ ।

नागढुंगा– मुग्लिन सडक योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने बताए । उनका अनुसार आज दिनभर सवारी साधन सञ्चालन हुने सम्भावना कम छ ।

गएराति खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको हो । राति सुरुमा सानो पहिरो खसेको थियो । त्यसलाई पन्छाएर एकतर्फी बाटो खुलाइएको थियो । तर पछि फेरि ठूलो पहिरो खसेपछि हाल सडक दुईतर्फी नै बन्द छ ।

अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउने काम गर्न नसकिएको उनले बताए । पहिरो खस्न रोकिएपछि मात्र पन्छाउने काम हुने प्रहरीले जनाएको छ ।

रातिदेखि नै सडक बन्द भएकाले यात्रुहरु र गाडीका स्टाफहरु बाटोमा अलपत्र छन् । उनीहरुलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गरेर प्रतीक्षा गर्न जिल्ला प्रहरी कार्यालय धादिङले अनुरोध गरेको छ ।

यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानेर खसेको पहिरोले ४० घण्टासम्म बाटो बन्द हुँदा यात्रुहरु हैरान परेका थिए । त्यतिबेलाको सडकमा परेको गाडीको चाप सामान्य नहुँदै पुन: धादिङको जवाङ खोलामा पनि पहिरो झरेपछि यात्रुहरु झन् समस्यामा परेका छन् ।

दशैं मनाउन गाउँ फर्किरहेकाहरुको यात्रा कष्टकर बनेको छ ।

धेरै पढिएको