सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा हैजा पोजेटिभ देखिएको हो ।
यद्यपी, यो रिपोर्ट पूर्ण विश्वासिलो नभएकाले थप जाँचका लागि माथिल्लो निकायमा पठाइएको स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताए । उनले आरडिटीले शत प्रतिशत हो नै भन्न सकिँदैन ,तर थप रिपोर्ट नआएसम्म हो नै मानेर काम गर्नुपर्ने बताए ।
जाँचपछि आइतबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्काललाई प्रभावित क्षेत्रलाई आइसोलेट गर्ने निर्णय गरेको छ । त्यहाँ स्वास्थ्यकर्मी खटाइने र पूर्ण रिपोर्ट नआएसम्म सबैलाई सावधानी अपनाउन जनचेतना फैलाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
लोखरमको मुसहर बस्तीमा झाडापखाला लागेर एकै परिवारको तीन जनाको मृत्यु भएको थियो । त्यसपछि यो कुरा बाहिरिएको थियो ।