काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनका कारण दुई दिन स्थगित भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आइतबार र सोमबारका लागि तोकिएको बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः सुरु हुनेछ ।
गत असोज २८ गतेदेखि जारी यस बैठकमा पार्टीको आसन्न १५ औँ महाधिवेशनका विषयमा गहन छलफल भइरहेको छ । महाधिवेशनको मिति निर्धारणका विषयमा केन्द्रीय सदस्यहरूबीच फरक-फरक धारणा र दृष्टिकोणहरू प्रस्तुत भइरहेका छन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, आजको बैठकमा महाधिवेशनको कार्यतालिका, सांगठनिक संरचना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफलले निरन्तरता पाउनेछ । नेताहरूको निधनले पार्टीभित्र शोकको माहोल रहे पनि केन्द्रीय समितिको बैठकले पार्टीको महत्त्वपूर्ण एजेन्डालाई अगाडि बढाउनेछ ।
यसअघि, पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेसले दुई दिनका लागि बैठक स्थगित गरेको थियो । आजको बैठकबाट महाधिवेशनको कार्यदिशा र अन्य महत्त्वपूर्ण निर्णयहरू आउने अपेक्षा गरिएको छ ।