काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले वर्तमान सरकार निर्वाचनको वातावरण निर्माण गर्न अनिच्छुक रहेको र उल्टै प्रतिपक्षमाथि प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको निष्कर्ष निकालेको छ । सरकारले अख्तियार गरेको ‘निषेधको नीति’ ले एमालेको पूर्ववत विश्लेषणलाई नै सदर गरेको बैठकले ठहर गरेको हो ।
विशेष गरी बाराको सिमरामा घटेको घटना र पछिल्ला अन्य राजनीतिक घटनाक्रमलाई विश्लेषण गर्दै एमालेले सरकार निर्वाचन गराउने पक्षमा नरहेको निचोड निकालेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको यस्तो रवैयाले प्रतिनिधि सभा पुनःस्थापनाको सान्दर्भिकता र औचित्य झन् बढेर गएको बताए ।
ज्ञवालीले भने, ‘राजनीतिक दलहरूलाई कार्यक्रम गर्न नदिने, स्थान अनुमति नदिने, नेताहरूमाथि क्षेत्रहद लगाउने र स्वतन्त्र घुमफिरमा समेत बाधा पुर्याउने काम भइरहेको छ । यो स्थितिले सरकार निर्वाचनको बाटोमा होइन, निषेधको बाटोमा हिँडिरहेको प्रष्ट पारेको छ ।’
बैठकमा यही मंसिर ६ गते शनिबार काठमाडौंमा आयोजना हुने जनसभाबारे पनि विस्तृत छलफल भएको थियो । उपमहासचिव ज्ञवालीले सिमरा घटनाको प्रकृति हेर्दा काठमाडौंको जनसभामा पनि घुसपैठ गराएर अवाञ्छित घटना निम्त्याउने प्रयास हुन सक्ने आशंका व्यक्त गरे । यद्यपि, यस्ता गतिविधिप्रति पार्टी पूर्ण रूपमा सतर्क र सचेत रहेको उनले जानकारी दिए ।