काठमाडौं । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ वटा दल दर्ता भएका छन् ।
आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको आयोगले जनाएको छ । हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १ सय ३२ पुगेको छ । दल दर्ता गर्ने समय मंसीर १० गते सम्म रहेको छ ।
निर्वाचनमा अधिकतम दलको सहभागीता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको आयोगले जनाएको छ । यसैबीच निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएका छन् ।
प्राप्त भएका निवेदन उपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको मतदाता नामावली प्रकाशित गरिनेछ । प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिनेछ । विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।