९ माघ २०८२, शुक्रबार
Follow Us

फुकुवा भयो ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०८२, आईतवार १२:२७

काठमाडौँ। ‘दक्षिण कोरियामा सीपयुक्त कामदार (ई-७ भिसा) पठाउने सम्बन्धी कार्यविधि, २०८०’ मा लगाइएको रोक फुकुवा भएको छ । उच्च अदालत पाटनको आदेशपछि वैदेशिक रोजगार विभागले कार्यविधिमा तत्कालका लागि लगाएको रोक फुकुवा गरेको हो ।

विभागले भदौ ३१ गते एक सूचना जारी गर्दै कार्यविधिको कार्यान्वयन तत्कालका लागि रोकिएको जनाएको थियो । त्यसका विरुद्धमा परेको रिट निवेदनमा उच्च अदालतले रोक लगाउने सूचना कार्यान्वयन नगर्न/नगराउन आदेश जारी गरेको थियो ।

अदालतको आदेशपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कात्तिक २४ गते परिपत्र गर्दै भदौ ३१ को सूचना कार्यान्वयन नगर्न भनेको थियो ।

अदालतको आदेश जारी भएसँगै कार्यविधि कार्यान्वयनको चरणमा पुगेको छ । श्रम मन्त्रालयले ई-७ भिसामार्फत सीपयुक्त कामदार पठाउन ‘दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ जारी गरेको थियो ।

विभागले अदालतको आदेशपछि मन्त्रालयले गरेको परिपत्रका आधारमा भदौ ३१ को सूचना फिर्ता लिइएको बताएको छ । विभागले एक सूचना जारी गर्दै उच्च अदालत पाटनको असोज ३१ को आदेश र श्रम मन्त्रालयको कात्तिक २४ को पत्रानुसार भदौ ३१ को सूचना कार्यान्वयन नगर्नु भनी आदेश प्राप्त भएकाले सो पत्रको कार्यान्वयन नहुने उल्लेख गरेको छ ।

धेरै पढिएको